काठमाडौं, माघ २३ – कोभ्याक्स सुविधामार्फत २० लाख डोजभन्दा बढी कोरोना भाइरसविरुद्धको खोप नेपाल आउने भएको छ। बेलायतले प्रदान गरेको सहयोगमा नेपालका लागि खोप आउन लागेको नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले जानकारी दिएकी छिन्।
विश्व स्वास्थ्य संघ (डब्लूएचओ)को पहलमा सबै देशमा कोरोनाविरुद्धको खोप पुर्याउन ‘कोभ्याक्स सुविधा’ तयार गरिएको हो। डब्लूएचओसँगै दुई वटा अन्तर्राष्ट्रिय संस्था गाभी (द ग्लोबल एलाइन्स फर भ्याक्सिन्स एन्ड इम्युनिजेसन्स) र सेपी (द कोलिजन फर इपिडेमिक प्रिपेयर्डनेस इनोभेसन्स)ले कोभ्याक्स सुविधाको संयोजन गरिरहेका छन्।
कोभ्याक्स सुविधामार्फत गरिब देशहरुमा कोरोनाविरुद्धको खोप वितरण गर्ने डब्लूएचओको तयारी छ। यसमा धनी देशहरुले सहयोग गर्ने र त्यही सहयोगमार्फत गरिब देशमा खोप वितरण गरिनेछ।
बेलायतले कोभ्याक्सलाई दिएको रु.७ खर्ब ५० अर्ब सहयोगमा नेपालका लागि कोरोना खोप आउन लागेको राजदूत पोलिटले बताएकी हुन्। उनले बिहीबार राति ट्वीट गर्दै एक महीनाभित्रै खोप आउने जानकारी दिएकी छिन्।
राजदूत पोलिटले ट्वीटमा भनेकी छिन्, “बेलायत सरकारको कोभ्याक्सलाई करीब रु. साढे सात खर्ब (५५० मिलियन पाउन्ड) रकमको सहयोगले नेपाललाई २० लाखभन्दा बढी डोज खोप आगामी महीनामा आइपुग्ने भएकोले निकै हर्षित छु।”
यो खोप स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, डब्लूएचओ नेपाल र युनिसेफसँगको सहकार्यमा वितरण हुने उनले जानकारी दिएकी छिन्।
यसअघि भारतले नेपाललाई १० लाख कोभिसिल्ड खोप दिएको थियो। पहिलो चरणमा कोभिसिल्ड खोप लगाउन क्रम जारी रहेकाे छ।
FACEBOOK COMMENTS