काठमाडौ, मंसिर १२ – कोभिडविरुद्धको खोप निर्माता बेलायती कम्पनी एस्ट्राजेनेकाले आफूले निर्माण गरेको खोपको प्रभावकारिताका लागि थप अध्ययन आवश्यक रहेको बताएको छ। खोपको प्रभावकारिताबारे प्रश्न उठेपछि कम्पनीले थप अन्तर्राष्ट्रिय परीक्षण आवश्यक रहेको बताएको हो।
कम्पनीका प्रमुख कार्यकारी पाकल सोरियटलाई उद्धृत गर्दै ब्लुमबर्ग न्युजले जनाएअनुसार पूर्ण डोजभन्दा कम डोजको प्रभावकारिताबारे मूल्यांकन गर्न थप अध्ययन आवश्यक पर्नसक्नेछ।
सोरियटले अर्को अध्ययन आवश्यक पर्नसक्ने भए पनि अबको प्रक्रिया चाँडो हुने बताए। ‘हामीलाई थाहा छ, यसको प्रभावकारिता उच्च छ, त्यसैले अब थोरै बिरामी भए पुग्छ,’ उनले भने।
सोरियटले थप परीक्षणका कारण बेलायत र युरोपियन नियमनकारी निकायबाट हुने स्वीकृतिमा ढिलाइ नहुने बताए।
यसअघि अक्सफोर्डको सहकार्यमा एस्ट्राजेनेकाले निर्माण गरेको खोप ७० प्रतिशत प्रभावकारी रहेको बताइएको थियो। कम्पनीका अनुसार बेलायतमा गरिएको परीक्षणमा खोपलाई २ खालका डोज दिइएको छ। २ हजार ७ सय ४१ जनामा सुरुमा आधा डोज र त्यसपछि पूरै डोज खोप दिइएको थियो। त्यसको नतिजा ९० प्रतिशत प्रभावकारी देखिएको थियो।
FACEBOOK COMMENTS