काठमाडौं, भदौ १४ – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोरोनाको मानसिक तनावबाट सकेसम्म मुक्त हुन विदेशमा रहेका नेपालीलाई आग्रह गरेको छ । संघले एक्लो नबस्न, साथीभाइसँग कुराकानी गर्न, गीतसंगित सुन्न र योग तथा ध्यान गर्न समेत आग्रह गरेको छ ।
कोभिड–१९ विरुद्ध भ्याक्सिन आगामी वर्षको पहिलो महिना (जनवरी) भित्र सर्वसाधारणको लागि उपलव्ध हुने अपेक्षा गरिएको बताउँदै एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले सचेत र सावधान रही अघि बढ्न आग्रह गरे । हाल कोरोना भाइरस विरुद्धको खोप जापान, अमेरिका, रुस, बेलायत, चीन, स्वीट्जरल्याण्ड लगायतका देशमा तीव्र गतिमा उत्पादन र परिक्षणको प्रक्रिया अघि बढेको छ ।
समितिले कोरोना भाइरस संक्रमणको जोखिम कम नभइसकेकोले थप सचेत र सावधान हुन नेपाली समुदायलाई आग्रह गरेको छ । समितिका संयोजक डा. सापकोटाले सार्वजनिक स्थल मात्रै नभई बन्द कोठामा गरिने भेला र जमघटले पनि संक्रमण बढाउने भएकाले त्यस्ता खाले कार्यक्रम कम गर्न र गर्नै पर्ने भए सिमित संख्या र सामाजिक दुरी कायम गर्न आग्रह गरे ।
डा. सापकोटाले कोरोना संक्रमणका क्रममा मनोबल उच्च राख्न समेत आग्रह गरे । कोरोना संक्रमणको बढ्दो जोखिमले सर्वसाधरणमा एक प्रकारको मनोवैज्ञानिक त्रास उत्पन्न गरेको भन्दै उहाँले उच्च मनोबल कायम गरेर सर्तकता अपनाउनु आग्रह गरेका हुन्। आफुलाई पहिलो प्राथमिकतामा राखेर सर्तकता अपनाउनुपर्ने डा। सापकोटाको भनाई छ ।
FACEBOOK COMMENTS