काठमाडौं, मंसिर २४ – सरकारले कोरोनाविरुद्धको खोप ल्याउने तयारीलाई तिव्रता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत कोभिड–१९ विरुद्धको भ्याक्सिन सचिवालयले खोप नेपाल भित्र्याउने तयारीलाई जोड दिएको हो । पहिलो चरणमा विश्व स्वास्थ्य संगठनमार्फत् ल्याउन लागिएको कोभ्याक्स अन्तरगतको खोप भण्डारण र वितरणका लागि अहिले काम धमाधम भइरहेको छ ।
स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमका अनुसार अहिले प्रदेशस्तरमा कोल्डचेन मर्मत तथा निर्माणको काम भइरहेको छ । काठमाडौंको टेकुमा रहेका २ वटा भण्डारण केन्द्र अहिले सुचारु अवस्थामा छन् ।
त्यस्तै प्रदेश–२ र कर्णाली प्रदेश बाहेकका ५ वटा प्रदेशमा समेत कोल्डचेन सुचारु छन् । यी दुई प्रदेशमा कोल्डचेन निर्माणका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । नयाँ बनाइने कोल्डचेनमा माइनस २० डिग्री सेल्सियससम्मका खोप भण्डारण गर्न मिल्नेछ । त्यस्तै उपत्यकाका लागि २ र उपत्यका बाहिर पठाइने खोपका लागि प्रत्येक प्रदेशमा १/१ वटा गरी सातवटा मोबाइल भ्यान तयारी अवस्थामा छन् । यी भ्यनमा २–८ डिग्रीसम्म चिस्यानमा राख्नसक्ने क्षमता छ ।
माइनस १५ देखि माइनस २५ डिग्रिसम्म चिस्यान क्षमता भएको भण्डारण कक्ष भने विभागसँग एउटा मात्रै छ । तर, खोप कहिले र कुन देशबाट ल्याइने भन्नेबारे भने निर्णय भइसकेको छैन ।
FACEBOOK COMMENTS