काठमाडौँ, भदौ २ – कोरोना भाइरसविरूद्धको चिनयाँ खोप दोस्रो चरणको परीक्षणमा पनि सफलता नजिक पुगेको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार चिनियाँ खोपको दोस्रो चरणको परीक्षण पनि आशाजनक र प्रभावकारी देखिएको छ । क्लिनिकल ट्रायलको ‘डाटा’ले खोप सुरक्षित र प्रभावकारी देखिएको छ जसले प्रतिरोधी क्षमता विकास गरेको दावी गरिएको छ ।
उक्त खोपको दोस्रो चरणको क्लिनिकल ट्रायलको ‘डाटा’ अमेरिकी मेडिकल एसोसिएसनको जर्नलमा प्रकाशन गरिएको छ । उक्त खोपको चिनियाँ नेसनल बायोटेक ग्रुपको वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्सअन्तर्गत सिनोफार्मले विकास गर्दैछ ।
ट्रायलमा १८ देखि ५९ वर्ष उमेर समूहका ३२० जना स्वस्थ्य स्वयंसेवीलाई सहभागी गराइएको थियो । जसमध्ये ९६ जनाले पहिलो चरणमा तथा २२४ जना दोस्रो चरणको ट्रायलमा भाग लिएका थिए ।
जर्नलमा प्रकाशित विवरण अनुसार खोप लगाइएको भागमा दुखाइ भएर केही समय ज्वरो आए पनि स्वतः निको भएको बताइएको छ । दोस्रो परीक्षण सकारात्मक भएपछि खोपको विकासमा खटिएका वैज्ञानिकहरू उत्साहित भएको सिन्ह्वाले जनाएको छ ।
FACEBOOK COMMENTS