काठमाडौं, २६ मंसिर- विगतमा प्रतिदिन सरदर १४,१५ हजार कोरोना परीक्षण गर्दा निको हुने दर ६९.३ प्रतिशत रहने गरेकामा हाल सालाखाला दिनमा ६,७ हजार जना मात्रले परीक्षण गरिरहेको कारण नेपालमा निको हुनेको दर ९४.२ प्रतिशत पुगेको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले उपचार पद्धति अन्य मुलुकको जस्तो भए पनि अहिले लक्षण नभएका सङ्क्रमित घरमै बसेर निको हुने गरेको बताए । उनले परीक्षण गर्ने क्रम घटेसँगै सङ्क्रमित पनि कम हुने भएकाले निको हुने दर बढेको जिकिर गरे । त्यस्तै, सशस्त्र प्रहरी बल अस्पतालका डा. प्रवीण नेपालले पनि परीक्षण नै कम हुँदा सङ्क्रमणको दर पनि कम देखिनाले निको हुनेको सङ्ख्या बढेको बताउँछन् ।
“अहिले लक्षण नभएका सङ्क्रमित घरमै बसेर आफैँ निको हुने गरेका छन्”, उनले भने । यदि परीक्षण दर बढाउने हो भने प्रत्येक ३ ब्यक्तिमा १ लाई कोरोना सङ्क्रमण पुष्टि हुन सक्ने चिकित्सकहरुको भनाई छ । विश्वमा ६ करोड ९२ लाख ५४ हजार ३०० सङ्क्रमित भएको अवस्थामा चार करोड ८० लाख नौ हजार ४३७ जना निको भएका छन् । बिहीबारसम्मको तथ्याङ्कानुसार नेपालमा दुई लाख ४५ हजार ६५० सङ्क्रमितमध्ये दुई लाख ३१ हजार ६०१ जना निको भई घर फर्किसकेका छन् ।
FACEBOOK COMMENTS