कोरोना भाइरस :चीनमा मृत्यु हुनेको सङ्ख्या १ सय ६ पुग्यो,४ हजार भन्दा बढी प्रभावित
काठमाडौं,माघ १ – चीनमा देखिएको नोवेल कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १ सय ६ पुगेको छ । चिनियाँ अधिकारीहरूका अनुसार कोरोनाभाइरसका कारण प्रभावित हुनेको सङ्ख्या ४ हजारभन्दा बढी पुगेको छ ।
यसैबीच भाइरसलाई फैलिनबाट रोक्न चीनमा यातायात आवागमनमा थप कडाइ गरिएको छ । भाइरस सुरू भएको वुहान सहर र त्यो सहर रहेको हुबे प्रान्तको अधिकांश स्थान बन्द गरिएको छ ।
चीनभन्दा बाहिर पनि यसको सङ्क्रमण फैलिएको छ र हिजोसम्म कम्तीमा १६ देशमा ४७ सङ्क्रमणका घटना पुष्टी भएको बीबीसीले जनाएको छ । चीनभन्दा बहिर भने हालसम्म कोरोनाभाइरसको सङ्क्रमणका कारण कसैको मृत्यु भएको छैन ।
के हो कोरोनाभाइरस ?
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो।
नयाँ प्रकारको कोरोनाभाइरस यसअघि मानवमा पहिचान गरिएको थिएन। कोरोनाभाइरस जूनोटिक अर्थात् जनावर र मानिसबीच सर्ने भाइरस हो। पहिचान भएका थुप्रै प्रकारका कोरोनाभाइरस जनावरहरूमा देखिए पनि मानिसहरूलाई तिनले सङ्क्रमित बनाएका छैनन्।
लक्षण के हुन् ?
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसहरूमा केही साझा लक्षणहरू देखिन्छन्।
-ज्वरो आउनु र खोकी लाग्नु
-छिटोछिटो सास फेर्नु
-श्वासप्रश्वासमा कठिनाइ हुनु
-गम्भीर भएमा निमोनिया हुनु
-सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु
-मिर्गौलाले काम गर्न छोड्छ र मृत्यु समेत हुन सक्छ
कसरी जोगिन सकिन्छ ?
यो भाइरसको सङ्क्रमणबाट जोगिन विश्व स्वास्थ्य सङ्गठनले निम्न प्रकारका सुझाव दिएको छः
-नियमित रूपमा हात सफा गर्ने
-खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने
-मासु र अण्डा राम्रोसँग पकाएर खाने
-कोरोनाभाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने
FACEBOOK COMMENTS