काठमाडौं, आश्विन १२ – रोल्पाका दश स्थानीय सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि पौने सात करोड रकम खर्च गरेका छन् । यद्यपि स्थानीय सरकारले खर्च गरेको रकम अपारदर्शी रहेको स्थानीय अगुवा बताउँछन् ।
क्वारिन्टिन व्यवस्थापन तथा तेस्रो मुलुकबाट आएका नागरिकको व्यवस्थापन र दाङदेखि आफ्नो पालिकामा नागरिकलाई ओसार्नका लागि सवारी साधानमा गरेको खर्च मात्रै छ करोड ७७ लाख ७२ हजार ६७२ रुपैयाँ भएको छ । सबैभन्दा धेरै खर्च लुंग्री गाउँपालिकाले गरेको छ ।
कोभिड १९ महामारी पछि रोल्पामा भदौ १८ गतेसम्म तीन हजार ८ सय ९४ जना भारत तथा तेस्रो मुलुकबाट आएका छन् । जिल्ला प्रशासन कार्यालय रोल्पाका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीका अनुसार तीमध्ये भारतबाट दुई हजार ९ सय ५० जना रोल्पा आएका हुन् भने तेस्रो मुलुकबाट ९ सय ४४ जना आएका छन् ।
रोल्पामा २०७७ जेठ २५ गते पहिलो पटक कोरोना भाइरसका ४ जनामा रिपोर्ट पोजेटिभ आएको थियो । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख अनिल केसीका अनुसार असोज ३ गतेसम्म दुई हजार ९ सय ६८जनाको स्वाब संकलन गरिएकोमा १०७ जनामा कोरोना पोजेटिभ देखिएको छ । पोजेटिभमध्ये ७६ जना उपचारपछि घर फर्केका छन् । १२ जना आइसोलेसनमा र बाँकी होम आइसोलेसनमा छन् ।
FACEBOOK COMMENTS