काठमाडौं, असोज १२ – कोरोना भाइरसको संक्रमणका कारण आज थप २ जनाको मृत्यु भएको छ। बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा एक जना र भरतपुर अस्पतालमा अर्का संक्रमितको निधन भएको हो।
कोरोना संक्रमण पुष्टि भएका भरतपुरका एक मृगौला रोगीको सोमबार दिउँसो मृत्यु भएको भरतपुरले जनाएको छ। अस्पतालका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ घर भएका ५५ वर्षीय पुरुष रहेका छन्। दुवै मृगौलाले काम नगरेपछि उनले अस्पतालमा डायलाइसिस सेवा लिदै आएका पनि थिए।
यस्तै, धरान स्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानको इमर्जेन्सीमा उपचाररत एक जनाको मृत्यु भएको छ। धरान उपमहानगरपालिका-२ की एक ३८ वर्षीया महिलाको उपचारको क्रममा सोमबार बिहान पौने ६ निधन भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाइ भएपछि उनलाई आइतबार राति पौने १२ बजे अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो। नेमोनियाको लक्षण देखिएका उनलाई अस्पतालको ल्याबमा स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ। बिरामीमा पहिलेदेखि अन्य दीर्घरोग भएरनभएको थाहा हुन नसके पनि इमर्जेन्सीमा परीक्षण गर्दा अत्यधिक मात्रामा ब्लड सुगर देखिएको थियो।
FACEBOOK COMMENTS