काठमाडौं, भदौ १ – औषधि व्यवस्था विभागले तीनओटा भारतीय कम्पनीलाई कोरोना संक्रमितको उपचारमा प्रयोग हुने आपत्कालीन औषधि रेम्डेसिभिर नेपाल भित्र्याउन अनुमति दिएको छ ।
विभागले सिप्ला, हेटेरो र माइलन कम्पनीलाई यस्तो अनुमति दिएको हो । ती कम्पनीका नेपालका लागि आधिकारिक आयातकर्ताले अब कोरोनाको उपचारमा प्रयोग हुने रेम्डेसिभिर इन्जेक्शन ल्याउन सक्ने विभागका प्रवक्ता सन्तोष केसीले बताए । विभागले कार्यविधि बनाएर औषधि आयातको बाटो खोलेको हो ।
रेम्डेसिभिर आपत्कालीन उपचारमा उपयोग हुने औषधि भए पनि कोरोनाकै उपचारमा प्रयोग हुने प्रमाणित नभइसकेकाले कार्यविधि बनाउनु परेको विभागले बताएको छ । आयात अनुमतिका लागि मात्रै २ महीनाभन्दा बढी लागेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आयात सिफारिशको अनुमति लिएर कार्यविधि टुंगो लगाउनु परेकाले अनुमतिमा केही विलम्ब भएको विभागको भनाइ छ । विभागले गत असार १० गते रेम्डेसिभिर र फाभिपिराभियरको आयात सिफारिशका लागि मन्त्रालयसित निर्देशन मागेको थियो ।
मन्त्रलायले विभागलाई रेम्डेसिभिरको मात्र आयात अनुमतिको प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो । औषधि भित्र्याउन नौओटा कम्पनीले आवेदन दिएकोमा विभागले तीनओटालाई स्वीकृत गरेको केसीले बताए ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गम्भीर कोरोना संक्रमण भएका बिरामीमा रेम्डेसिभिर क्लिनिकल ट्रायल अध्ययनका लागि आयातको अनुमति दिन विभागलाई शनिवार पत्र पठाएको थियो । त्यसपछि विभागले यसको आयात खुला गरेको हो ।
कोरोना सक्रमण बढ्दै जाँदा केही आयातकर्ताले गत जेठमै यसको आयातको अनुमति माग्दै विभाग पुगेका थिए । पछिल्लो समय कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या वृद्धि भएसँगै रेम्डेसिभिर आयात गर्न दिनुपर्ने माग चिकित्सा क्षेत्रबाट उठेको थियो । यो औषधि भारत, बंगलादेश, पाकिस्तानलगायत देशमा कोरोना उपचारमा प्रभावकारी देखिएको छ ।
नेपाली बजारमा यो औषधि रू. ६ हजार ५ सयमा उपलब्ध हुने विभागको दाबी छ ।
FACEBOOK COMMENTS