काठमाडौं, असोज १९ – नेपाली कांग्रेसले कोरोना संक्रमितहरूलाई आइसोलेसनमा राख्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ। नेपाली कांग्रेसका सहमहामन्त्री तथा कोभिड-१९ अनुगमन समितिका संयोजक प्रकाशशरण महतले सोमबार विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन्।
‘काठमाडौं उपत्यकामा जसको आइसोलेसनमा बस्नको लागि समुचित व्यवस्था छैन, जो डेरामा बस्नछन् या घरै भए पनि मापदण्डअनुरूप बस्ने व्यवस्था छैन, उनीहरूको बिचल्ली भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘ती संक्रमितबाट थप संक्रमण फैलने परिस्थिति बनेको छ।’
कतिपय डेरामा बस्ने संक्रमित र बाहिरबाट आएर परीक्षण गर्दा पोजेटिभ देखिएकाहरू सरकारी निकायसँग फोन गरेर आइसोलेसनमा बस्न माग गरिरहेको कांग्रेसको भनाइ छ।
उनीहरूलाई सरकारले पन्छाइरहेको भन्दै कांग्रेसले त्यसले कोरोना संक्रमण झन् बढ्ने खतरा देखिएको जनाएको छ। ‘सरकार संक्रमण झन् बढ्ने खतराप्रति पूरै उदासिन छ,’ विज्ञप्तिमा भनिएको छ।
FACEBOOK COMMENTS