काठमाडौं, जेठ १६ – कोरोना संक्रमणका कारण आज थप एक जना पत्रकारको मृत्यु भएको छ । अन्नपूर्ण पोष्ट दैनिकको दोलखा सम्वाददाता तथा दोलखास्थित रेडियो भिमेश्वरका स्टेशन म्यानेजर रवीन्द्र गौतमको आज आइतबार काठमाडौंमा मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि जेठ ९ गते चरिकोट अस्पतालबाट हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएका गौतमको नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
गौतमको स्वास्थ्यमा थप समस्या आएपछि गएरातिदेखि भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । स्वर्गीय गौतमका आमा, श्रीमती, ९ वर्ष र ६ महिनाकी दुई छोरी छन् ।
दोलखाको भिमेश्वर नगरपालिका–३ निवासी गौतम डेढ दशकदेखि पत्रकारितामा सक्रिय थिए । इमेज च्यानल, आर्थिक अभियान दैनिक, नवतरंग साप्ताहिकलगायतमा काम गरेका गौतम पछिल्लो समय अन्नपूर्ण पोष्टको दोलखा सम्वाददाता तथा तथा स्थानीय रेडियो भिमेश्वरको स्टेशन म्यानेजरका रुपमा कार्यरत थिए ।
उनको मृत्युसँगै कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुने पत्रकारको संख्या १९ जना पुगेको छ । नेपाल पत्रकार महासंघका अनुसार हालसम्म ९०० जना भन्दा बढी पत्रकारहरु संक्रमित भएका छन् ।
FACEBOOK COMMENTS