पर्सा – भारतको कोलकाता समुद्री बन्दरगाहबाट नेपालका लागि रेलबाट हुने ढुवानीमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणाली (इसीटीएस) फागुन तिन गते देखी लागू भएको छ ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घले वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा कोलकाता पोर्ट ट्रस्टका डेपुटी चियरमेन बालजी अरुण कुमारले कोलकाताबाट नेपालका लागि कन्टेनरमार्फत हुने ढुवानीमा इसीटीएस प्रणाली लागू गरिएको जानकारी दिए ।
उनले इसीटीएस लागू भएपछि नेपाली आयातकर्ताको समय र खर्च दुवै जोगिने दावी गरे । इसीटीएस प्रणालीले कागजी प्रक्रियालाई न्यून गर्नुका साथै बन्दरगाहमा लाग्ने एजेन्ट खर्चलाई समेत समाप्त गर्ने अरुणकुमारको भनाइ छ ।
उनले इसीटीएस लागू भएपछि बन्दरगाहको झन्झटिलो भन्सार प्रक्रियाका कारण तिर्दै आएको विलम्ब शुल्कबाट नेपाली आयातकर्ताले राहत पाउने जानकारी दिए ।
उनले पहिले कोलकाता बन्दरगाहमा एजेन्ट राखी सबै कागजी प्रक्रिया पूरा गर्नुपर्ने अवस्था रहेकोमा इसीटीएस प्रणली लागू भएपछि बन्दगाहको कागजी भन्सार प्रक्रिया समाप्त भई वीरगञ्ज सुख्खा बन्दरगाहसम्म मालवस्तु पु¥याउने सबै दायित्व सिपिङ कम्पनीकै हुने बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका स्थल यातायात तथा पारवहन समितिका सभापति अशोककुमार टेमानीले इसीटीएस प्रणली लागू भएपछि तेस्रो मुलुकबाट मालवस्तु आयात गर्दा सिपिङ कम्पनीलाई एक पटक सबै कागजात बुझाएपछि पुग्ने र नेपालसम्म सुरक्षित पुर्याउने दायित्वसमेत सिपिङ कम्पनीकै हुने बताए ।
कोलकाता बन्दरगाहबाट वर्षेनी एक लाख कन्टेनर नेपाल भित्रिने गरेको र सोमध्ये ४० प्रतिशत कन्टेनर रेलबाट आउने गरेको छ । यो प्रविधिबाट बन्दरगाह व्यवस्थापन, भन्सार, वाणिज्य विभाग, कोलकाता महावाणिज्य दूतावास र आयातकर्ताले अनलाइनबाटै कन्टेनरको अवस्थितिबारे बुझ्न सक्ने बताइएको छ ।
विशाखापट्टनम बन्दरगााहबाट नेपालका लागि रेलबाट हुने कन्टेनर ढुवानीमा इसीटीएस प्रणली पहिलेदेखि लागू गरिएको छ । रासस
FACEBOOK COMMENTS