काठमाडौं – कोशी नदीमा फागुन दोस्रो साताबाट जेट बोट र स्पिड बोट सञ्चालन हुने भएको छ ।
कोशी एड्भेन्चर प्राइभेट लिमिटेड र बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवाले नदीमा जल यातायात सुरु गर्न लागेका हुन् ।
कोशी एड्भेन्चरले कोशी नदीमा स्पिडबोट सञ्चालन गर्नेछ । सुनकोशी, सप्तकोशी र अरुण नदीमा वराह क्षेत्रले स्पिडबोट सञ्चालन गर्ने भएको हो । स्पिडबोट सुनसरी, उदयपुर, धनकुटा र भोजपुरमा सञ्चालन हुने एड्भेन्चर प्रमुख डीबी कार्कीले बताए ।
कार्कीका अनुसार प्रालिले १८ वटा बोट निर्माणका लागि भारतीय कम्पनीलाई जिम्मा दिएको छ । कम्पनीले फागुन महिनासम्ममा केही बोट उपलब्ध गराउने कार्कीको भनाई छ ।
बोट ६ देखि २६ सिट क्षमताको हुनेछ । प्रालिका अनुसार स्पीड बोटबाट २ नगरपालिका र ३ गाँउपालिका समेट्नेछ ।
हाल एड्भेन्चरले नदीमा ४ वटा बोटबाट र्याफ्टिङ सञ्चालन गरिरहेको छ । १२ जना क्षमताको बोटबाट र्याफ्टिङ गर्दा प्रतिव्यक्ति ३ हजार रुपैयाँँ शुल्क लिने गरिएको छ । आयोजना परामर्शको काम प्रकृति कन्सल्ट प्रालिले गरिरहको छ ।
यसअघि नै कोशी नदीमा बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिले २५ सिट क्षमताको मिनी पानी जहाजको परीक्षण गरिरहेको छ ।सो कम्पनीले ३ वटा मिनी पानी जहाजबाट बराह क्षेत्रदेखि भोजपुरसम्म जल यात्रा आरम्भ गराउन लागेको हो । २५ सिट क्षमताको जेट बोटले चतरादेखि भोजपुरको सिम्लेसम्म ५० देखि ६० किलोमिटर दूरी पार गर्नेछ ।
FACEBOOK COMMENTS