नवराज कुँवर कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) अध्यक्ष हुन् । मंसिर ७ गते सम्पन्न क्यानको २६ औं वार्षिक साधारणसभा एवं १३ औं कार्यसमितिको निर्वाचनबाट कुँवर अध्यक्ष पदामा विजयी भएका हुन् । क्यान निर्वाचनमा आफ्नो प्रतिस्पर्धी उम्मेद्धार सुनैना घिमिरे पाण्डेलाई १३ प्रतिशत मतान्तरले पराजित गर्दै कुँवर अध्यक्षमा विजयी भएका हुन् ।
विगत २६ बर्षदेखि क्यानमा आवद्ध कुवँरले उपत्यकाबाहिर क्यानलाई फैलाउन महत्वपूर्ण भूमिका खेलेका छन् । क्यानमा लामो समयदेखि विभिन्न पद र जिम्मेवारीमा रहेर काम गरिसकेका कुवँर केन्द्रिय कार्यसमितिमा पर्यवेक्षक सदस्य हुँदै संघको केन्द्रीय समिति सदस्य, प्रथम उपाध्यक्ष र महासंघमा यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् ।
क्यानको नयाँ कार्यसमिति चयन भइसकेको अवस्थामा अब क्यानको भावी योजना , यसका चुनौती र अवसरका बारेमा उनीसँग कर्पोरेट खबर डटकमकी जमुना भण्डारीले गरेको कुराकानी :
क्यानले दुई बर्षका लागि तपाईको नेतृत्वमा कार्यसमिति पाएको छ । क्यानलाई अगाडी बढाउन तपाईको आगामी योजनाहरु के के छन् ?
-सर्वप्रथम त सबै सदस्यहरुले म माथि देखाउँनु भएको विश्वासका लागि धन्यबाद दिन चाहन्छु । क्यानको अघिल्लो कार्यसमितिमा म पनि वरिष्ठ उपाध्यक्ष भएका कारण हामीले सुरु गरेका धेरै कामहरु छन्, त्यसको निरन्तरता र मेरो कार्यकालमा पूर्णता दिने काम गर्नेछु । साथै क्यानलाई “स्मार्ट क्यान” रुपान्तर गर्न पेपरलेस बनाउँने योजनालाई मेरो कार्यकालमा पूर्णता दिनेछु । देश संघियतामा गर्इसकेको अवस्थामा क्यानलाई पनि संघिय संरचनामा लगिसकेको छ । सात प्रदेश ४८ जिल्लामा फैलिएको क्यानलाई ७७ वटै जिल्लामा पुर्याउँने लक्ष्य लिएको छु । क्यान स्थापनाको २७ बर्ष भइसकेको अवस्थामा अझै पनि आफ्नो भवन छैन् । मेरो कार्यकालमा क्यानको आफ्नै भवन तथा पूर्वाधार तयार गर्ने र प्रादेशिक सचिवालय स्थापना गर्ने कार्यलाई प्राथमिकतामा राखेर काम गर्नेछु । नेपालको सबैभन्दा ठूलो सूचना प्रविधि मेला क्यान इन्फोटेकलाई अझ परिष्कृत र विकसित बनाउने र यसलाई सातै प्रदेशमा विस्तार गर्ने योजनालाई पूर्णता दिन पहल गर्छु ।
क्यानमा आवद्ध सदस्यहरुको हकहितका लागि क्यानले कसरी राज्यसँग नीतिगत तहमा रहेर समन्वयकारी भूमिका खेल्नेछ ?
-क्यानमा अहिले पाँच हजार सदस्यहरु आवद्ध हुनुहुन्छ । क्यानले सरकार र व्यवसायीको बीचमा रहेर मध्यष्थकर्ताको रुपमा काम गर्नेछ, जसका लागि मैले ‘थ्रि सी’को योजना अगाडी सारेको छु । यस अन्तर्गत पहिलोमा सरकारले गरेका राम्रो कामको समर्थन गरी सरकारसँग सहकार्य गर्ने, दोस्रोमा सरकारले बनाउने आईटी सम्बन्धी निती नियममा सहयोग गर्ने र तेस्रोमा सरकारले बनाएका निती नियमका कारण उद्योगी व्यवसायीलाई परेका अफ्ठ्यारा बारे सरकारलाई खबरदारी गर्ने काम गछौं । निजी क्षेत्र र सरकारको सहकार्यले मात्रै यो क्षेत्रको विकास संभव भएका कारण दुबैलाई समेटेर अगाडी बढ्छौं । यसका साथै सरकारी क्षेत्रबाट हुने आईटी सम्बन्धि कामहरुमा हामी हातेमालो गर्छौं । सरकारका सूचना प्रविधि सम्बन्धमा जति पनि लक्ष्य र योजनाहरु रहेका छन् त्यसको सफल कार्यान्वयनमा क्यानको बिशेष भूमिका रहनेछ । साथै सूचना प्रविधि सम्बन्धि सामान एवं सेवा आयात र निर्यातमा देखिएको समस्या तथा ब्रोडव्याण्ड कनेक्टिभिटि सञ्चालनमा रहेको अव्यवाहरीक कर नितिलाई सरकारसँग छलफल गरि समाधान गर्ने पहल गर्नेछु ।
सरकारले ‘भिजिट नेपाल २०२० ’सुरु गरेको छ । ’भिजिट नेपाल २०२०’ लाई सफल पार्न क्यानले सरकारसँग कसरी सहकार्य गरेर काम गर्नेछ ?
– ‘भिजिट नेपाल २०२०’ लाई सफल बनाउँन क्यान सरकारसँग सहकार्य गरेर अगाडी बढ्नेछ । यसको व्यापक प्रचारप्रसारका लागि क्यानले स्वदेशी तथा विदेशी आइटी उद्योग र पर्यटन उद्योगलाई दुबैलाई संलग्न गराएर अन्तर्राष्ट्रि स्तरको कन्फ्रेन्स गर्ने योजना बनाएको छ । यसले गर्दा नेपालको प्रचारप्रसार पनि हुन्छ भने विदेशी लगानी नेपालमा भित्र्याउँने वातावरण पनि बन्छ ।
सरकारले दुर्गम तथा ग्रामीण भेगमा सूचना तथा प्रविधि पुर्याउँने लक्ष्य लिएको छ यसको कार्यान्वयनका लागि के गर्नु पर्ला ?
-देशको हरेक क्षेत्रको विकाशका लागि सूचना प्रविधिको प्रयोग अहिले अनिवार्य भइसकेको छ । त्यसका लागि सरकारले सातै बटा प्रदेशमा सूचना तथा प्रविधि वोर्डको स्थापना गर्नु पर्दछ । साथै सरकारले जसरी प्रैढ शिक्षा र स्वास्थ्य शिक्षालाई स्वयमसेविका वा टोल सुधार समिति मार्फत गाँउगाँउ लग्यो त्यसरी नै सूचना तथा प्रविधि शिक्षालाई गाँउगाँउ सम्म पुर्याउँनु जरुरी छ । सरकारले सूचना तथा प्रविधि सम्बन्धि शिक्षालाई स्कुल तहदेखिनै अनिवार्य विषयको रुपमा लागु गर्नु पर्दछ । सूचना तथा प्रविधि मुख्य माध्यम इन्टरनेट भएकाले यसलाई ग्रामीण तहसम्म पुर्याउँनका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अगाडी बढ्न जरुरी छ ।
देशबाट रोजगारीका लागि युवा जनशक्ति विदेशी रहेको अवस्थामा सूचना प्रविधिलाई कसरी रोजगारी सृजना गर्ने उद्योगका रुपमा विकास गर्न सकिन्छ ?
-पक्कै पनि सूचना प्रविधिलाई उद्योगको रुपमा स्थापना गरी रोजगारी सृजना गर्न सकिन्छ । अहिले कै अवस्थामा काठमाडौंमा मात्र हेर्ने हो भने हरेक १० घरमा एक सूचना प्रविधि उद्योग छ चाहे त्यो सफ्टवयर सम्बन्धित होस् वा हार्डवयर सम्बन्धि । यसका साथै धेरै नेपालीहरु विदेशमा आइटी कम्पनीमा काम गरिरहेका छन्, यदि हामीले त्यस्ता अन्तराष्ट्रिय कम्पनी नेपालमा भित्र्याउन सकेमा ठूलो रोजगारी देशमै सृजना गर्न सक्छौं । तर त्यसका लागि सरकारले वैदेशिक लगानी सम्बन्धि निती नियम खुकुलो बनाउँन आवश्यक छ भने बैदेशिक लगानी भित्र्याउन आकर्षित योजना पनि लागु गर्नु पर्दछ । साथै स्वदेशमा रहेका उद्योगलाई प्रोत्साहन गर्न पनि जरुरी छ ।
FACEBOOK COMMENTS