काठमाण्डौँ — कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ तेस्रो साता आयोजना गर्न लागेको क्यान इन्फोटेक २०१९ को सम्पूर्ण तयारी पूरा भएको छ ।
‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा’ नाम दिइएको मेला माघ १५ देखि २० गतेसम्म ६ दिन चल्नेछ ।
सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन क्यान महासंघले स्थापनाको दुई वर्षपछि सन् १९९५ देखि निरन्तर क्यान इन्फोटेक आयोजना गर्दै आएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने सूचना प्रविधि मेलामा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहनेछ ।
मेलामा एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न सकिनेछ भने नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिनेछन् ।
क्यान महासंघले मेलाको यो संस्करणलाई विशेष बनाउन नयाँ–नयाँ स्किमहरु ल्याएको छ ।
FACEBOOK COMMENTS