काठमाडौं, भदौ २२ । चार्ड पर्वलाई लक्षित गरी एक सहकारी संस्थाले चितवनको इच्छाकामना गाउँपालिकामा खसी बोका खरीद बिक्री केन्द्र स्थापना गरेको छ ।
इच्छाकामना वडा नम्बर– ६ मा रहेको चण्डिभञ्ज्याङ महिला उद्यमी सहकारी संस्था लिमिटेडले किसानको सहजतालाई मध्येनजर गरी ग्राहकलाई सस्तो र गुणस्तरीय खसिबोका उपलब्ध गराउने उद्देश्यले मुग्लिन नजिकै कालिखोलामा उक्त केन्द्र स्थापना गरेको हो ।
सहकारीद्धारा शनिबार आयोजीत एक कार्यक्रममा यस केन्द्रको इच्छाकामना गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले उद्घाटन गरेकी हुन् । यो केन्द्र कालिखोलाकै पहिलो हो ।
खसी बोका बिक्री केन्द्र निर्माणका लागि इच्छाकामना गाउँपालिकाको दुई लाख ५० हजार, हेफर इन्टरनेशनलको दुई लाख र सहकारीले एक लाख लगानी गरेको अध्यक्ष गुरुङले जानकारी दिईन्
केन्द्र स्थापना भएकै दिन करीब ६१ खसी बोका बिक्री भएका छन्। त्यसबाट करीब नौ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

केन्द्रमा ४० किलोभन्दा माथिको खसी बोकाको प्रतिकिलो पाँच सय, ३० देखि ४० किलोसम्मको ४७० र २० देखि ३० किलोसम्मको ४५० रुपैयाँ प्रतिकिलोका दरले बिक्री मूल्य निर्धारण गरिएको छ।

खसी बोका खरीद बिक्री सङ्कलन केन्द्र निर्माण भएपछि किसानलाई सहजता भएको छ।