काठमाडौं, फागुन ५ – तरकारी, मसला, दाल तथा गेडागुडी र फलफूल जस्ता खाद्यान्न तथा पेय पदार्थको महँगी घट्न नसक्दा मूल्यवृद्धिमा निरन्तर दबाब परेको छ । आर्थिक वर्ष (आव) २०७६/७७ को पुससम्म खाद्य तथा पेय पदार्थको मूल्य १० दशमलव २१ प्रतिशतले बढेको छ भने गैरखाद्यअन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरण आदिको ४ दशमलव २५ प्रतिशत मूल्यवृद्धि भएको छ । यसबाट समग्रमा मूल्यवृद्धिमा चाप पर्दा पुससम्ममा उपभोक्ता मुद्रास्फीति ६ दशमलव ८२ प्रतिशत वृद्धि भएको नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनले देखाएको छ ।
आव २०७५/७६ को यही अवधिमा यस्तो मुद्रास्फीति ४ दशमलव ५८ प्रतिशत रहेको थियो । केन्द्रीय बैंकको तथ्यांकअनुसार सो अवधिमा प्राथमिक वस्तुसमूह अन्तर्गत खाद्य वस्तु तथा उत्पादित वस्तु समूहअन्तर्गत खाद्य, पेय तथा सुर्तीजन्य पदार्थ एवम् छाला तथा छालाजन्य पदार्थको थोक मूल्य वृद्धि उच्च रहेको छ । तर, निर्माण सामग्रीको थोक मूल्य ५ दशमलव शून्य ६ प्रतिशतले घटेको राष्ट्र बैंकले बताएको छ ।
सरकारले चालू आवमा मूल्यवृद्धि ६ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको छ । तर, गत मंसिर महीनादेखि मूल्य वृद्धि लक्ष्यभन्दा माथि पुग्न थालेको छ । गत असोजसम्म पनि मूल्य वृद्धि लक्ष्यभन्दा माथि नै थियो । तर, गत कात्तिकमा भने मूल्य वृद्धि घटेर ५ दशमलव ७३ प्रतिशतमा पुगेको थियो, जुन नेपाल सरकारको लक्ष्यभन्दा कम थियो । पछिल्लो २ महीनामा महँगीले निरन्तरता पाउँदा लक्ष्यभन्दा माथि पुगेको छ । यसरी महँगी बढ्दै गएपछि उपभोक्ताहरू थप मारमा परेका छन् । तरकारीको मूल्यकै कारण आम सर्वसाधारणको भान्छा तुलनात्मक रूपमा महँगो भएको छ ।
समीक्षा अवधिमा नेपालको तुलनामा छिमेकी मुलुक भारतको मूल्यवृद्धि बढी छ । त्यसको दबाब नेपालमा परेको नेपाल राष्ट्र बैंकको ठहर छ । आर्थिक वर्ष (आव)२०७६/७७ मा नेपालको उपभोक्ता मुद्रास्फीति ६ दशमलव ८२ प्रतिशत रहेकोमा भारतमा यस्तो (जनवरी महीनाको) मुद्रास्फीति ७ दशमलव ५९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महीनामा नेपालको मुद्रास्फीति ४ दशमलव ५८ प्रतिशत रहँदा भारतको २ दशमलव ०५ प्रतिशत रहेको थियो ।
भारतको मूल्यवृद्धि बढेका कारण नेपालमा महँगी नियन्त्रण हुन नसकेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट बताउँछन् । ‘भारतमा मूल्यवृद्धि बढेको बढ्यै छ । विशेष गरेर भारतमा तरकारीको मूल्य ५० प्रतिशतले वृद्धि हुँदा समग्र उपभोक्ता मूल्यवृद्धिमा चाप परेको देखिन्छ । ‘अधिकांश वस्तु भारतबाटै आउने भएकाले यसको प्रत्यक्ष असर नेपालमा परेको हो,’ उनले भने, ‘भारतले चालू आवमा मूल्यवृद्धिको सीमा ४ प्रतिशत राखेकोमा गत पुस मसान्तमा यस्तो मूल्यवृद्धि ७ दशमलव ५९ प्रतिशत देखियो । गत मंसिरमा यस्तो मूल्यवृद्धि ७ दशमलव ३५ प्रतिशत पुगेको थियो,’ उनले भने, ‘तर, अहिले भारतको मूल्य वृद्धि सीमा नाघेर नेपालको भन्दा माथि पुगेको छ । त्यसको प्रभाव नेपालमा समेत देखिएको हो ।’
पछिल्लो समय नेपालको राजधानीमा भन्दा तराई क्षेत्रको मूल्यवृद्धिमा थप चाप परेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । गत पुस महीनासम्ममा काठमाडौं उपत्यकामा ७ दशमलव २४ प्रतिशत मूल्य बढ्दा तराईमा ७ दशमलव ४६ प्रतिशत पुगेको छ । यसैगरी, पहाडमा मूल्यवृद्धि ५ दशमलव ३९ प्रतिशत र हिमालमा ५ दशमलव शून्य १ प्रतिशत रहेको छ । आजको आर्थिक अभियानमा समाचार छ ।
FACEBOOK COMMENTS