शैक्षिक, खेलकुद र राजनीतिक क्षेत्रमा काम गर्दै आएका रमेश कुमार सिलवाल राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नयाँ सदस्य सचिव नियुक्त भएका छन् । नेपाली खेलकुदको कार्यकारी निकाय राखेपको १८औं सदस्य सचिवको रुपमा सिलवालले बहाली गरेसँगै खेलक्षेत्र उत्साहित छ । उनी लामो समयदेखि खेलकुद क्षेत्रमै समर्पित व्यक्ति हुन् । उनी बोल्न भन्दा मैदानमा काम गरेर देखाउने चाहने व्यक्ति हुन्् । सिलवालको लागि तत्कालको सबैभन्दा मुख्य चुनौतीको रुपमा नेपालमै आयोजना हुन लागेको १३औं दक्षिण एसियाली खेलकुद (साग) समयमै सफल रुपमा आयोजना गर्नु हो । जसको लागि अब ६ महिना भन्दा पनि कम समय बाँकी छ । राजनीतिकरणको कारण नेपालको खेलकुद पनि ध्वस्त भएको छ । यसलाई कसरी बढाउँछन् ? त्यो उनको ४ वर्षे कार्यकालले बताउने नै छ । नेपालले आयोजना गर्न लागेको साग, क्यानको विवाद, शिक्षा र खेललाई कसरी जोड्ने, खेलकुद विकासको लागि कर्पोरेट क्षेत्रको कस्तो सहयोग हुन्छ भन्ने विषयमा रमेश कुमार सिलवालसँग बसन्त अर्यालले गरेको कुराकानीः
लामो समय खेलकुद क्षेत्रमा काम गरिरहनु भएको छ । कस्तो छ नेपालमा खेलकुदको माहोल ?
नेपालमा खेलकुदको फैलावट भएको छ । खेलाडीको हिसावले, कोचको हिसाव र भौतिक पूर्वधारको हिसावले पनि । मानिसहरुले खेलकुदलाई सकारात्मक रुपमा लिन थालेका छन् । खेल्नु भनेको विग्रनु भन्ने धारणा अहिले परिवर्तन भएको छ । तर हामी यसैमा आत्मसन्तुष्टी हुने ठाउँ छैन हामी सँगसँगै भएका राष्ट्रले फड्को मारेर कहाँ पुगिसके हामी बामे मात्र सरेका छौं । साँच्चिकै खेलकुदको विकास चाहान्छौं भने पहिले आम नागरिकलाई खेलकुदको विषयमा जागरुक बनाउँछ । दोस्रो खेलकुदलाई ‘प्रोफेस्नालिज्म’को रुपमा विकास गर्नुछ । खेलकुदबाटै सम्मानजनक जीवन निर्वाह गर्न सकिन्छ भन्ने वातावरण बनाउनुछ । तेस्रो पाटो राष्ट्रिय अन्तराष्ट्रिय प्रतियोगितामा ‘एस्पोजर’ बढाउनुछ । चौथो पाटो भनेको खेलकुदमा लागेकालाई हौसला र सम्मान हो । यी सबैको लागि चाहिने भनेको पूर्वधारको विकास नै हो । यो बाहेक खेलकुदलाई शिक्षा क्षेत्रसँग जोडेर हेरिनु पर्छ ।
तपाईं त शिक्षा क्षेत्रमा पनि काम गरिरहनु भएको छ । विद्यालयबाट बाहिर निस्केपछि मात्र खेलाडी बन्ने भन्ने त
हुँदैन ।विद्यालयतहबाटै शिक्षा र खेलकुदलाई कसरी जोड्ने ?
यसको लागि मैले पूर्ण योजना बनाएर काम अगाडि बढाउँछु । पहिलो कुरो विद्यालयलाई खेलकुदमा कसरी जोड्ने भन्ने नै हो । एउटा अनुसन्धानले के बताएको छ भने ६ वर्षदेखि ८ वर्षभित्र कुनै एउटा खेल खेलेको बच्चा र १६ देखी १८ वर्षमा खेलेको युवा बीच परिणाम हेर्ने हो भने कलिलो उमेरमा खेलेको युवाहरुले राम्रो ‘रिजल्ट’ दिने रहेछन् । यसको मतलब विद्यार्थीलाई विद्यालय तहबाट नै खेलकुदमा आकर्षित गर्नु पर्छ भन्ने हो । विद्यालयमा खेल खेलेको विद्यार्थी कलेजबाट निस्कदा ‘प्रफेक्ट’ भएर निस्कन्छ । यो मात्र होइन क्लब स्तरमा पनि जानु आवश्यक छ । नेपालमा खेलाडी संरक्षण, संर्वधन गर्ने काम भइरहेको छैन । सेना, प्रहरीले केही संरक्षण गरेको छ । त्यसको परिणाम पनि देखिएको छ । अन्य क्षेत्रबाट खेलाडी संरक्षण गर्ने काम हुनसकेको छैन । यसको लागि खेलाडीलाई विद्यालसँग जोड्नु पर्यो । त्यो बाहेक कर्पोरेट हाउस, निजी क्षेत्र, संस्थानलाई पनि खेलकुद संग जोड्नु पर्यो ।
विगतमा तपाई जस्तै धेरै सदस्य सचिव राखेपमा आए । उनीहरुले पनि राम्रो ग¥यौं भन्दै गए । तर नेपाललाई अरुदेश संग दाँजेर हेर्दा त हामी तल नै छौं । तपाईबाट खेलकुद क्षेत्रले के आशा गर्ने ?
म गफमा भन्दा काममा बढी विश्वास गर्ने मान्छे हुँ । तपाईंहरुलाई मैले १०० दिनभित्र के गरे भन्ने परिणाम देखाउँछु । मैले खेलक्षेत्रका विज्ञले दिएका सुझावलाई मैले व्यवहारमा उतार्नेछु । मेरो कार्यकाल ४ वर्षको हो । त्यसपछि मैले काम गरें पक गरिनँ, मैले आफै मुल्यङ्कन गर्ने होइन । खेल समिक्षक, खेलाडी, कोच, संघ, पत्रकारहरुले गर्नुहोस् ।
बारम्बार मिति सरेको ‘साग’ डिसेम्बरमा हुने भनिएको छ । हाम्रो तयारी पर्याप्त छ त ?
हामीले अविश्वास किन गर्ने ? त्यसको लागि पूरै लागेका छौं । खेल हुनको लागि तीनवटा कुरा आवश्यक छ । मैंले सागलाई पनि ३ भागमा विभाजन गरेको छु । पहिलो कुरा पूर्वधारको निमार्ण नै हो । कात्तिक १५ भित्र सम्पूर्ण पूर्वधार निमार्ण भइसक्छ । पूर्वधार नभएको कारण खेल रोकिदैन । दोस्रो खेलाडिलाई प्रशिक्षण वा तयारी । १३ ओटा गेमको साउन अगाडि प्रशिक्षण सुरु भएको छ । बाँकी गेम साउन १ देखि अरु गेमको तयारी भइरहेको छ । प्रशिक्षण पनि तिन किसिमले गरेका छौ । नेपालमा नेपाली प्रशिक्षकबाट ,नेपालमा विदेशी प्रशिक्षक ल्याएर , खेलाडिलाई विदेश पठाएर पनि प्रशिक्षण गरिरहेका छौं । तेस्रो उद्घाटनदेखि समापनसम्मको तयारी पनि पूरा भएको छ ।
कुन कुन देशका खेलाडि आउने पक्का भयो ?
लगभग सबै राष्ट्रले सहभागिता जनाउने टुङ्गो लागिसकेको छ । हामीले सबै राष्ट्रलाई कुन कुन खेल हुँदैछन् । कुन खेल कुन रंगशालामा हुने तालिका पठाएका छौं । तयारी नै नभएको भए त हामी यो काम गर्ने थिएनौं नि । अहिले नदेखिने तयारी अलि बढी भएको हो पछि देखिन्छ ।
सर्वसाधरणले तयारी कस्तो छ भन्नको लागि भौतिक पूर्वधार नै हो । दशरथ रंगशालाको स्थिति हेर्दा अझै समय लाग्ने जस्तो छ । कसरी कुन–कुन ठाउँमा खेल खेलाउनुहुन्छ ?
हो भौतिक पूर्वधार बनाउनु पर्ने ठाउँ धेरै छ । पूर्वधारमा हाम्रा चुनौति भनेका तिनवटा हुन् । एउटा सातदोबाटोको हिटिङ स्वीमिङ पुल निर्माण हो । यो पनि कात्तिक १५ भित्र सकिन्छ । अरु यहाँका संरचना सम्पन्न भइसके । दोस्रो दशरथ रंगशाला हो । यसमा प्याराफिट र छानो निमार्णको काम बाहेक अरु काम अन्तिमरुपमा पुगेको छ । तेस्रो पाटो पोखरा रंगशाला हो । त्यहाँ आर्टिफिसियल रंगशाला निमार्ण हुँदै थियो । त्यसलाई रोकेर नेचुरल रंगशाला निमार्ण गर्न भनेको छु । पोखराको रंगशालाको १५ हजारको क्षमताबाट २० हजार पु¥याउँदै छ । त्यसमा साग अगाडि सबै पूर्वधार निर्माण नसके पनि १० हजार क्पासिटीको प्याराफिट निर्माण भैसक्छ । त्यहाँ स्टीलको सामाग्री प्रयोग गरि बनाइँदै छ । भारत र चीनबाट सामाग्री आएपछि त्यो तुरुन्त भैहाल्छ । कुनै कारण पोखराको रंगशाला निमार्ण भएन भने पनि साग रोकिदैन । यदि भएन भने पनि बैकल्पिक सोचेका छौं । तर काठमाडौंको रंगशाला निमार्ण भएन भने साग रोकिन्छ । त्यसको निम्ती ठेकेदारको भनाईलाई विश्वास नगरी आफै भारत गएर प्रयोग हुने सामग्री कमि नहुने ग्यारेन्टी गरेको छु । माथिको छाना चाइनाबाट झिकाउन पर्ने छ । म आफैंले त्यसको प्रयत्न गरेको छु ।
कतिवटा खेलकुदको टुङ्गो लागिसक्यो ?
२९ वटा खेल हामीले खेलाउँदै छौं ।
खेलकुदसँग सम्बन्धित संगठनहरु खेल विकासको लागि भन्दै गठन भए । तर ती मागिखाने भाडोको रुपमा छन् । अनावश्यक संघलाई कसरी व्यवस्थित गर्दै हुनुहुन्छ ?
पहिला २१६ संघ थिए । अहिले १५६ ओटा संघ रहेका छन् । अब गतिविधी नगरी संघमात्र खोल्ने अस्तित्वमा रहदैनन् । केही संघ विदेश जान वा म्यानपावर सप्लाई गर्न वा सिभिमा आफ्नो नामा लेख्न मात्रै खडा गरिएका छन् । मैले सम्पूर्ण संघको ढाँचा बनाएर उहाँहरुका योजना पेश गर्न भनेको छु । तपाईंहरु आजसम्म के गर्नुभयो आगमी दिनमा के गर्नुहुन्छ भन्ने खालका ढाँचा पठाएको छु । यो सकेर सबै संघसँग बैठक बस्छु । जसको क्रियाकलाप पनि छैन , चुनाव पनि गर्दैन यस्ता संघलाई कि पुनः गठन गर्छु कि खारेज गर्छु । गतिविधी नभएका संघको आवश्यक छैन । तर पुनःगठन वा खारेजे म कारणसहित गर्छु । सक्रिय भएका संघलाई अझै सक्रिय बनाउन प्रयत्न गर्छु ।
खेलकुदका संघ र विदेश पठाउने म्यानपावर एउटै भएका छन् । यो वेथितीलाई कसरी रोक्नुहुन्छ ?
कसरी रोक्नु हुन्छ होइन, रोक्ने क्रम शुरु भएको छ । म आईसकेपछि १२० जनालाई अनावश्यक रुपमा विदेश जानबाट रोकेको छु । कारण सहित विदेश जानेलाई रोक्दिन । संघहरु रिन्यु भएको हुनुपर्छ । संघहरुले अडिट गरेको हुनुपर्छ । पेस्की खर्च गरेको हुनुपर्छ । यसले संघको पारदिर्शीता देखाउँछ । अर्को प्रतियोगितामा जाने हो त्यसको अवश्यक छ कि छैन त्यो पनि हेर्छु । अहिले कस्तो छ भने खेलाडी भन्दा अफिसियल बढी जाने । संघमा को–को हुनुहुन्छ, सवै लाम लागेर जाने । त्यो नेपालको वेइज्जत हो म हुन दिन्न । राखेपबाट पैसा नलगेपनि अनावश्यक भ्रमण स्वीकृत हुँदैन। घुम्न जानको लागि ट्राभ एजेन्सी छन् नि ।
नेपालीहरुमा क्रिकेट प्रति क्रेज बढिरहेको छ । तर, त्यसको संस्था क्यान आइसिसिको निलम्बनमा छ । निलम्ब फुकाउनको लागि तपाईंको नेतृत्वमा तदर्थ समिति पनि बनेको थियो । कहिले फुक्छ निलम्बन ?
मैले आईसिसिसँग बसेर छलफल गरेको छु । यो समाधान छिट्टै हुन्छ । हाम्रो नेपालमा के हुन्छ भने सपार्ने भन्दा विगारेर फाइदा लिन खोज्ने मान्छे धेरै छन् । अस्तीको बैठकमै निलम्बन फुकुवा हुन्थ्यो । तर नेपालीहरुले नै फुकुवा गर्नु हुँदैन भने । नराम्रो परिस्थिती भएपनि ६ महिना भित्र समस्या समाधान हुन्छ । अब हुने आईसिसिको बैठकमा निलम्बन फुकुवा गर्ने प्रयास गरेका छौं । हामीले क्रिकेटमा विवाद धेरै गर्यो तर पूर्वधार निर्माण संरक्षण, खेलाडी उत्पादनमा कहिल्यै विवाद गरेनौं तर पदको लागि सधै झगडा मात्र ग¥यौं। जम्मा भएको पैसा कसरी सक्ने भन्ने विवाद ग¥यौं ।
बारम्बार उठ्ने गरेको प्रश्न खेलाडीको अभिवृद्धि, तलब, सुविधाको विषयमा छ । खेलाडीलाई कसरी टिकाइ राख्ने ?
नियम संगत कसले तलब पाउनुपर्ने हो, त्यसले पाएको छ । आशा वढी नै छ, त्यो हामीले गर्न सकेका छैनौं । हाम्रो बजेट त्यो अनुसारको छैन । मन्त्रालयमा छलफल गर्दा अर्थमन्त्रालयले तपाईंहरुलाई हरेक वर्ष बजेट वृद्धि गरेका छौं, अझै भएन भन्नुहुन्छ । २ वर्ष अघि १ अर्व थियो त्यसपर्छि २ अर्व अहिले ४ अर्व छुट्याएको छौं, अझै के किचकिच भन्नुहुन्छ । गत वर्ष राष्ट्रिय खेलको लागि हो भने यो वर्ष सागको लागि बजेट वृद्धि भएको हो । अन्य कुराको लागि त बजेट आएको छैन नि । मेसीले खाने जति तलब समग्र खेलकुद क्षेत्रको छैन । हामीले त्यति नै तलबको आशा गरेर भएन । तर अव खेलकुद क्षेत्रमा लागेपछि जीवन बन्छ है भन्ने बनाउँछौ हामी ।
विश्वमा केहि देश फुटवलको कारण चिनिएका छन् भने केही क्रिकेटको कारण चिनिएका छन् । नेपाल विश्वमा चिनिन के गर्नुपर्छ ? तपाईंको कार्यकालमा के गर्न सक्नुहुन्छ ?
समग्र खेलकुदको विकासको लागि ३ भागमा बाँडेर हेर्छु । पहिलो पदक ‘ओरियन्टेड गेम’ हो । नेपालले सबै भन्दै धेरै पदक ल्याउने गेम भनेको मार्सल आर्ट नै हो । कराते, तेकन्दो, जुडो, उसु हो । यिनीहरु पछि एथलेटिक्स हो । प्याराग्लाइडिङ अर्को संभावनाको खेलको रुपमा विकास भएको छ । अर्को पपुलर गेम हो । फुटवल, क्रिकेट, भोलिबललाई छुट्टैरुपमा हेरी विकास गर्नुपर्छ । तेस्रो भनेको लामो समयदेखि हामी खेल्दै आएका गेम । जस्तो आर्चरी, बागचाल, डन्डीवियो । यी गेम गर्नको लागि धेरै खर्च गर्नैै पर्दैन । हाम्रो खेलकुदमा सबै गेम एक हुन भन्ने छ । म त्यो कुरामा सहमत छैन । जसले राम्रो गर्छ, त्यसलाई अगाडि बढाउनु पर्छ । हामीलाई चाहिएको रिजल्ट हो । त्यसैले गेम अनुसार लगानी फरक–फरक हुनुपर्छ ।
खेलकुद विकासको लागि क–कसको समन्वय आवश्यक देख्नुहुन्छ ?
अहिले हामी संघीयता कार्यन्यनको चरणमा छौं । अब केन्द्रले के–के काम गर्ने ? प्रदेशले के गर्ने स्थानिय तहले के गर्ने भन्ने खाका बनाउँछौ । अब बन्न लागेको खेलकुद विधेयकमा यो सुझाव दिन्छौं । यी तीन निकाय मिलेर काम गरे परिणाम निस्कन्छ । अर्को कर्पोरेट क्षेत्रलाई हामीले जोड्नै पर्छ । उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, सिएन आई जस्ता निजी क्षेत्रका संघ संस्थालाई जोड्नु पर्ने छ । बैंकिङ, इन्स्योरेन्स वा अन्य प्राईभेट कम्पनीसँग समनय गरेर मात्र खेलकुदको विकास हुन्छ । निजी कम्पनीले सामाजिक उत्तरदायीत्व सम्बन्धी ०.५ प्रतिशतमात्र पनि खेलकुद क्षेत्रमा सहयोग गरे नेपालको खेलकुद क्षेत्रले धेरै फड्को मार्छ ।
FACEBOOK COMMENTS