काठमाडौं,फागुन २२- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि २०७५ फागुन २८ गते प्रतिबन्ध लगाएका प्रधानमन्त्री केपी शर्मा ओली दुई वर्षमै ‘यू–टर्न’ हुँदै विप्लवसँगै कसरी अंकमाल गर्न पुगे भन्नेबारे राजनीतिक वृत्तमा धेरैको चासो छ ।
‘राजनीतिमा कोही पनि स्थायी शत्रु वा स्थायी मित्र हुन सक्दैन’ भन्ने तथ्यलाई प्रधानमन्त्री ओलीसँगै सम्बन्धित दुई घटनाक्रमले पुष्टि गर्दछ । २०७५ जेठ ३ गते पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गरेका ओली अहिले प्रचण्डविरुद्ध आक्रामक अभिव्यक्ति दिन थालेका छन् भने पार्टी औपचारिक रुपमै विभाजनको प्रक्रियाबाट गुज्रिरहेको छ ।
अर्कोतिर २०७५ फागुन २८ मा आफैले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्धबाट फुकुवा गर्दै प्रधानमन्त्री ओलीले शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा सो पार्टीका महासचिव विप्लवको प्रशंसासमेत गरे ।
प्रशंसाको पुल बाँध्ने क्रममा प्रधानमन्त्री ओलीले विप्लवलाई आफूले ८/१० वर्षअघि विप्लवसँग निकैबेर छलफल गरेको र सोही छलफलदेखि एक अर्कामाथि विश्वास बढेको पनि सुनाए । तर ८÷१० वर्षअघि नै एक अर्कामाथि यसरी विश्वास बढेको भए प्रधानमन्त्री ओलीले नै दुई वर्षअघि विप्लव समूहमाथि किन प्रतिबन्ध लगाए भन्ने प्रश्न अनुत्तरित नै छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउने प्रधानमन्त्री ओलीको कदमलाई सबैले प्रशंसा गरेका छन् । तर, सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाउँदा सो समूहका बारेमा गरेका टिप्पणी अनि, विप्लव समूहले ओली नेतृत्वको सरकारका बारेमा गरेका टिप्पणीलाई स्मरण गर्ने हो भने दुई वर्षमै ओली र विप्लवबीच कसरी एक अर्कालाई हेर्ने दृष्टिकोणमा यति ठुलो परिवर्तन आउन सक्यो भन्ने प्रस्ट हुन सकेको छैन ।
जे होस्, विप्लव नेतृत्वको पार्टी राष्ट्रिय राजनीतिको मूलधारमा आएको छ । सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर भएकोमा सबैजसो राजनीतिक दलले स्वागत गरेका छन् । सामान्य नागरिकले पनि यसलाई सकारात्मक रुपमा लिएका छन् । तर विप्लव समूहसँग रहेका हतियार र विस्फोटक पदार्थका बारेमा सहमतिपत्रमा केही उल्लेख नगरिनुलाई भने सर्वत्र अनौठो मानिएको छ ।
सरकार र विप्मू हबीच भएको ३ बुँदे सहमतिमा विप्लवका पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्ने, मूलधारको राजनीतिमा आउने जस्ता विषय समेटिएपनि हतियारको विषJJJJयमा कहिँकतै उल्लेख उल्लेख गरिएको हो।
दुई वर्षको अवधिमा विप्लव समूहले विभिन्न स्थानमा गराएका विस्फोट, सो समूहका कार्यकर्ताहरु पक्राउ गर्ने क्रममा प्रहरीले बरामद गरेका हतियार लगायतका विस्फोटक पदार्थका आधारमा पनि सो पार्टीका कार्यकर्ताहरूसँग हतियार र विस्फोटक पदार्थ रहेको तथ्यलाई नजरअन्दाज गर्न मिल्दैन । ती हतियार एवं विस्फोटक पदार्थलाई राज्यको नियन्त्रणमा ल्याउन सरकारले किन चाहेन भन्नेबारे शुक्रबार आयोजित कार्यक्रममा न प्रधानमन्त्री ओलीले प्रस्ट पारे, न त विप्लवले नै आफ्ना कार्यकर्तासँग रहेका हतियारबारे केही बोले ।
FACEBOOK COMMENTS