श्रावण ५- गण्डकी प्रदेश सरकारले एकै दिनमा १ अर्ब ३५ करोड रुपैयाँ खर्चिएको छ । आर्थिक वर्ष ०७६/७७ को अन्तिम दिन असार ३१ मा ४ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत सुदीप गौतमले जानकारी दिए ।
आवको अन्तिम दिन भएकाले एकै दिन बढी बजेट भुक्तानी गरिएको उनले बताए । ३१ गतेको मध्यरातसम्म बजेट भुक्तानी गरिएको थियो ।
यसैगरी असारमा मात्रै २६ प्रतिशत अर्थात् ८ अर्ब ३९ करोड २३ लाख रुपैयाँ खर्च भएको छ । प्रदेश सरकारको गत वर्षको बजेट खर्च ६३.७१ प्रतिशत छ । कुल बजेट ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजारमध्ये २० अर्ब ४७ करोड २७ लाख ८२ हजार ४ सय ६८ खर्च भएको हो । चालुतर्फको १२ अर्ब २८ करोड ५७ लाख ७२ हजारमध्ये ६ अर्ब ४८ करोड ६३ लाख ५० हजार ५ सय १२ अर्थात् ५२.८० प्रतिशत खर्च भएको छ, पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० लाख २० हजार बजेटमध्ये १३ अर्ब ९८ करोड ६४ लाख ३१ हजार ९ सय ५६ अर्थात् ७०.४६ प्रतिशत खर्च भएको गौतमको भनाइ छ ।
लकडाउनका कारण योजनाअनुरूप बजेट खर्च गर्न नसकिएको आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बताए । लकडाउन खुकुलो भएसँगै आवको अन्तिम महिना असारमा पुँजीगत खर्च ह्वात्तै बढेको उनको भनाइ छ । लकडाउनले बजेट खर्चमा खासै असर नपुर्याएको उनले बताए । ‘भौतिक पूर्वाधारका काम नियमित भइरहेका थिए । भौतिक मन्त्रालयले ठेक्का लगाउने काम गरिरह्यो । जसले गर्दा बजेट भुक्तानी गर्नैपर्छ । लकडाउनले पूर्वाधारमा खासै असर पारेको देखिएन,’ उनले भने । जिल्लागततर्फ सबैभन्दा बढी पर्वतले ८१ र सबैभन्दा कम खर्च कास्कीले ३९.१२ प्रतिशत खर्च गरेका छन् ।
लकडाउनले बजेट खर्चमा पनि असर पुगेको आर्थिक मामिला तथा योजना मन्त्रालयका बजेट महाशाखा प्रमुख ध्रुव पाण्डेले बताए । ‘यतिका बजेट खर्च हुनु धेरै राम्रो हो । लकडाउनका बावजुद पनि बजेट खर्च गर्न सफल भएका छौं । लकडाउन नभएको भए सरकारले लिएको लक्ष्यअनुरूप खर्च हुने रहेछ,’ उनले भने ।
FACEBOOK COMMENTS