काठमाडौं, पुष ७ – प्रतिनिधिसभा विघटन भएसँगै नेकपामा आएको उतारचढावको प्रभाव गण्डकी प्रदेश सरकारमा पनि पर्ने भएको छ । नेकपामा देखिएको जोडघटाउको असरले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार पनि संकटमा पर्ने देखिएको छ ।
गण्डकी प्रदेशसभामा नेकपाका ४० सदस्य रहेका छन् जसमध्ये पूर्व एमाले २८ र पूर्व माओवादीका १२ सदस्य छन् । त्यसमा पनि २७ सदस्य केपी शर्मा ओली पक्षधरका रहेका छन् । ईन्द्रलाल सापकोटा मात्र माधव नेपाल समूहका सदस्य हुन् । यस्तै, कांग्रेसका १५, राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सदस्य छन् । ओली पक्षमा रहेका भनिएका २७ मध्ये अरु ३–४ जना ओली पक्षको नभइ जसको लविङ पुग्छ उसैको हुने चर्चा पनि चल्न थालेको छ ।
त्यस्तै गण्डकी प्रदेशमा सरकार फेरबदल हुँदा साना दल पनि निर्णायक बन्ने देखिएको छ । किनभने २७ सदस्य हुँदा ओली पक्षले जसपाको २ र जनमोर्चाको ३ सदस्यको साथ पाएमा मात्र सरकारलाई निरन्तरता दिनसक्ने देखिन्छ । तर प्रचण्ड–माधव समूहमा १३ सदस्य रहँदा र कांग्रेसको १५ सदस्य थपिँदा २८ हुने भएकाले जनमोर्चाको साथ पाएमात्र पनि नयाँ समीकरण बनाएर सरकार बनाउन सक्ने सम्भावना देखिन्छ ।
FACEBOOK COMMENTS