काठमाडौं, जेठ १६ – मुक्तिनाथ विकास बैंकले आफ्नो सबै कार्यालयहरूको स्थान पहिचान गर्न सहज होस् भन्ने अभिप्रायले गुगल प्लस कोड सार्वजनिक गरेको छ । यो कोड गुगल नक्सामा टाइप गरेमा सो कार्यालय रहेको स्थान सजिलै पहिचान गर्न सकिन्छ । यस्तो कोड अद्यावधिक गर्ने नेपालको पहिलो बैंक भएको समेत दाबी गरिएको छ ।
गुगल प्लस कोड गुगल नक्सामा आधारित जीपीएस प्रणाली स्थान जनाउने कोड हो । सो कोडको प्रयोगले खोजेको स्थानको ढोकासम्मै पुग्न सकिन्छ । यो व्यवस्थाले बैंकको कार्यालयसम्म पुग्न चाहाने आफ्ना ग्राहकलाई अझ सहज हुने बैंकले बताएको छ ।
यो कोड सम्बन्धित कार्यालयमा फोन गरेर वा बैंकको वेबसाइटमा शाखाको विवरण रहेको स्थानमा हरेक शाखाका कोडहरू उपलब्ध गराइएको बैंकले जनाएको छ । बैंकको केन्द्रीय कार्यालयको गुगल प्लस कोड 7MV7P85C+QP हो ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस मुक्तिनाथ बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेशिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागि : ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ ।
FACEBOOK COMMENTS