भारत– भारतको गुजरातमा निर्माण गरिएको विश्वकै सबैभन्दा अग्लो स्मारकको अनावरण गरिदै छ ।
सो स्मारक भारतीय स्वतन्त्रता सेनानी वल्लभ भाई पटेलको हो । उनको स्मारक करिब चार वर्ष लगाएर बनाइएको छ । यसै महिना निर्माण सम्पन्न भएपछि त्यसको अनावरण प्रधानमन्त्री मोदीले बुधबार गर्ने कार्यक्रम रहेको भनी व्यापक प्रचार गरिएको थियो ।
अनावरणको तयारी गरिएपछि स्थानीयहरुले त्यसको विरोध गरेका छन् । उनीहरुले उक्त सालिक निर्माणप्रति असन्तुष्टि जनाउँदै अनावरणको दिन विरोध प्रदर्शन गर्ने जनाएका थिए ।
सरकारले प्रधानमन्त्री उपस्थित हुने यस कार्यक्रममा कुनै असुरक्षा नहोस् भनेर ठूलो संख्यामा प्रहरी खटाएको छ । सादा पोशाकमा खटाइएका प्रहरीले सङ्कास्पद केही व्यक्तिलाई नियन्त्रणमा लिएका समाचारहरु पनि आइरहेका छन् ।
गुजरातका प्रहरी अधिकारीले उक्त स्मारक रहेको क्षेत्रको वरिपरि करिब १० किलोमीटर क्षेत्रसम्म कम्तीमा पनि पाँच हजार प्रहरी परिचालन गरिएको जानकारी दिएका छन् ।
उक्त स्मारकलाई विश्वकै सबैभन्दा अग्लो भनी प्रचार गरिएको छ । त्यसको उचाई १८२ मीटर रहेको बताइएको छ । उक्त स्मारक निर्माणका लागि करिब ३० अर्ब भारतीय रुपैयाँ खर्च लागेको बताइएको छ ।
स्थानीयको जग्गा अनुसारको क्षतिपूर्ती सरकारले नदिएकोले आफूहरुले विरोध गरेको स्थानियको भनाई छ । रासस
FACEBOOK COMMENTS