काठमाडौं, माघ ४ – गुहेश्वर मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको नवनियुत्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेशकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन् । उनले आगामी माघ १ गतेदेखि लागू हुने गरी सीईओ पदको पदभार ग्रहण गरेका हुन् ।
उनलाई पुस ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओ तथा कम्पनी सचिव पदमा पनि नियुक्त गरेको हो । यससँगै, सीईओ श्रेष्ठले माघ १ गतेदेखि नै संस्थाको सीईओ र कम्पनी सचिवको कार्यभार सम्हालेका छन् ।
बैंकिङ क्षेत्रमा मात्रै २५ वर्षको कार्य अनुभव हासिल गरिसकेका श्रेष्ठले बीमा क्षेत्रको पनि ८ वर्ष अनुभव हासिल गरेका छन् । श्रेष्ठले १७ वर्ष नेपाल बैंकमा काम गरेका थिए ।
नेपाल बैंक छोडेपछि उनले ३ वर्ष एनसीसी बैंकमा काम गरेका थिए । एनसीसी बैंकपछि उनले ५ वर्षसम्म महालक्ष्मी फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए ।
महालक्ष्मी फाइनान्सपछि उनी एशियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनेका थिए । एशियनमा उनी ८ वर्ष प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । श्रेष्ठले आफ्नो २ कार्यकाल पूरा भएपछि गत साउन २१ गतेदेखि एशियन लाइफ इन्स्योरेन्स कम्पनी छोडेर बसेका थिए ।
गुहेश्वर मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका दिनेशलाल श्रेष्ठ केही दिनअघि मात्रै एशियन लाइफ इन्स्यारेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएर आएका थिए । राजेशकुमार श्रेष्ठले छोडेको एशियन लाइफको सीईओ पदको जिम्मेवारी दिनेशलाल श्रेष्ठले सम्हाल्न लागेका छन् भने दिनेशलाल श्रेष्ठले छोडेको गुहेश्वरी मर्चेन्टको सीईओ पदको जिम्मेवारी राजेशकुमार श्रेष्ठले सम्हाल्न लागेका छन् ।
FACEBOOK COMMENTS