काठमाडौं । गोदावरी पुष्प प्रदर्शनीमा लक्ष्यभन्दा बढी कारोबार भएको छ । ललितपुरमा शुक्रबारदेखि आयोजित १४ औँ गोदावरी पुष्प प्रदर्शनीमा लक्ष्यभन्दा बढी आम्दानी भएको हो ।
गत वर्ष कोरोना महामारीका कारण उक्त प्रदर्शनी हुन सकेको थिएन । यस वर्षको प्रदर्शनीमा दुई दिनमा रु ३८ लाखको कारोबार भएको आयोजक संस्थाले जानकारी दिएको छ ।
फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङका अनुसार यस वर्ष कारोनाको महामारी पूर्ण रुपमा नहटेका कारण रु ५० लाखको मात्रै कारोबार हुने आशा गरिएपनि लक्ष्यभन्दा बढी आम्दानी हुने भएको छ ।
“शुक्रबार र शनिबार जस्तै आर्थिक कारोबार हुने हो भने करिब रु ७० लाखको कारोबार हुन्छ”, अध्यक्ष तामाङले भने । फ्लोरिकल्चर एशोसिएशनले वर्षेनी प्रदर्शन आयोजना गर्दै आएको गोदावरी पुष्प प्रदर्शनी यस वर्ष आगामी सोमबारसम्म चल्ने छ । प्रदर्शनीमा सबैभन्दा बढी गोदावरी फूल अवलोकन कर्ताको रोजाई बनेको बताइएको छ । मेलामा ४४ स्टल रहेको छ भने गोदावरी पुष्पसँगै, पुष्प खेती गर्दा आवश्यक पर्ने औजार, मललगायत मेलामा राखिएको एशोसिएशनको भनाइ छ ।
फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ । नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकाससँगै फस्टाउँदै गएको छ ।
FACEBOOK COMMENTS