काठमाडौ, वैशाख २७ – गोल्छा गु्रपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारलाई अझै प्रभावकारी बनाउन रू १ करोड सहयोग गरेको छ । गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेशनाथ गोंगललाई उक्त सहयोग रकम आज हस्तान्तरण गरेका छन् ।
कोरोनाको पहिलो लहरको विषम परिस्थितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाटन अस्पताल मार्फत कोरोनासँग जुध्न महत्वपूर्ण कार्य गर्दै आफ्नो सेवाबाट थुप्रै संक्रमितको वीवन रक्षा गर्न सफल भएको र अस्पतालले सधैं उत्कृष्ट कार्य गरेकाले उक्त प्रशंसनीय कार्यको उच्च मूल्याङ्कन गर्दै उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । अहिले कोरोना भाइरसको दोस्रो लहरले झनै आक्रान्त बनाएको असहज परिस्थितिसँग जुध्न उक्त सहयोगले केही हदसम्म सहज हुने विश्वास ग्रुपको छ ।
गोल्छा गु्रपद्वारा प्रदान गरिएको सहयोग रकमलाई अस्पतालले अक्सिजन व्यवस्थापन गर्न, उपकरणहरूको अभावलाई पूर्ति गर्न, स्वास्थ्यकर्मीहरूद्वारा दिइने सेवा सहज बनाउन र बिरामीलाई आवश्यक पर्ने बेडहरूको संख्या बढाउने लगायत कोरोनाको संक्रमणसँग जुध्ने अन्य कार्य गर्नलाई उपयोग गर्ने बताएको छ ।
के भन्छन् शेखर गोल्छा ?
अहिले देश एकदमै विषम परिस्थितिबाट गुज्रिरहेको छ र कोरोनाको यो दोस्रो लहरले हामी सबैलाई एकदमै अफ्ठ्यारोमा पारेको छ । यस महामारीको घडीमा हामीले पाटन अस्पताललाई सहयोग गर्न पाउँदा हामी निकै नै खुसी छौँ । हामीले कोरोनाको पहिलो लहर र लकडाउनको बेलामा पनि अन्य केही संस्थाहरूसँग मिलेर कोरोनाविरुद्ध सहकार्य गरेका थियौँ ।
हामीले लकडाउनका बेला सिंगापूरको परोपकारी संस्था टेमासेक फाउन्डेशनबाट अनुदान प्राप्त १० हजार पीसीआर फर्टिट्यूड किट प्लेन चार्टर्ड गरि ल्याएर सरकारलाई हस्तान्तरण गरेका थियौँ । जुन फ्रन्टलाइनमा कार्य गरिरहेका स्वास्थ्यकर्मीद्वारा देशभरका कोभिड–१९ का बिरामीको परीक्षणका लागि उपयोग गरिएको थियो । हामीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्यको थालनी गरेका छौं र भविष्यमा पनि यस सहकार्यलाई निरन्तरता दिने छौं । यो हाम्रो संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत थालिएको स्वास्थ्य क्षेत्र सँगको नयाँ साझेदारी हो ।
FACEBOOK COMMENTS