काठमाडौँ, आश्विन २२ – वाग्मती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउन्डेसनलाई ३ करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा बुधबार एक कार्यक्रमकाबीच मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई ३ करोड रकमको चेक हस्तान्तरण गरेका थिए ।
मुख्यमन्त्री पौडेलले धुर्मुस–सुन्तलीले उत्साहका साथ गरेको कामको प्रशंसा गर्दै रंगशाला निर्माण तीब्र गतिमा भएको भन्दै खुसी व्यक्त गरे । सरकारले आगामी दिनमा पनि सहयोग जारी राख्ने उनले जानकारी गराए । सामाजिक विकास मन्त्री युवराज दुलालले पछि पनि सरकारको तर्फबाट सहयोग हुने प्रतिवद्धता व्यक्त गरे ।
फाउन्डेसनका अध्यक्ष कट्टेलले सहयोग रकम बुझ्दै प्रदेश सरकारको प्रशंसा गर्दै सरकारले सहयोग गर्छ भन्ने अपेक्षा रहेको भन्दै जग्गा दिएर सुरु गरेको र हाल रकम सहयोग गरेकोमा धन्यवाद दिए ।
रंगशाला निर्माणमा हाल २ सय ३३ जनशक्तिले काम गरिरहेको उनले जानकारी गराए । सहयोगी मनहरूले सहयोग गरिरहेको भएपनि लकडाउनले परिस्थिति जटिल बनाएको बताए ।
उनले भने, ‘अवस्था समस्या जनक छ तर काम गर्दै छौ, बजारमा ७ करोड तिर्न बाकी भए पनि हामीले हिम्मत हारेका छैनौं ।’ सहयोग हस्तान्तरण कार्यक्रममा प्रदेशका प्रमुख सचिव डा. मानबहादुर बिक, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जे एन थपलिया, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, सामाजिक बिकास मन्त्रालयका सचिव दीपक काफ्लेको सहभागिता थियो ।
फाउन्डेसनले धेरै स्वंयसेवक परिचालन गरेर रंगशाला निर्माण कार्य सम्पन्न गर्ने कोसिस गरिरहेको छ । करिब ३ अर्ब लागत अनुमान रंगशाला निर्माण लागि गरिएको छ । नेपाललाई खेलकुद हबको रूपमा विकास गर्ने योजनाका साथ सो रंगशाला निर्माण कार्य लकडाउनको समयमा पनि अगाडि बढाइरहेको फाउन्डेसनले जनाएको छ । फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच २ वर्षभित्र रंगशाला निर्माण सम्पन्न गर्ने गरी २०७५ माघ २० गते सम्झौता भएको थियो ।
२० बिगाह ८ कठ्ठा क्षेत्रफलमा फैलिएको यस क्रिकेट रंगशाला कमलको फूल आकारको हुने र करिब २५ हजार दर्शक क्षमताको रहने बताइएको छ । रंगशाला निर्माणका लागि पूर्वराष्ट्रिय खेलाडीहरूले विभिन्न अभियानहरू सञ्चालन गरिरहेका छन् भने विभिन्न स्थानीय तहले नगद तथा जिन्सी सहयोग समेत उपलब्ध गराउँदै आएका छन् ।
FACEBOOK COMMENTS