काठमाडौं, मंसिर १- प्रधानमन्त्री केपी ओलीको शनिबार तेस्रो पटक डायलासिस भएको छ। नियमित स्वास्थ्य जाँचका लागि धापासीस्थित ग्रान्डी अस्पताल पुगेका प्रधानमन्त्री ओलीको डायलासिस भएको अस्पतालले जनाएको छ।
फलोअपका लागि अस्पताल पुगेका ओलीको हेमोडायलासिस भएको अस्पतालका डाइरेक्टर चक्रराज पाण्डेले जानकारी दिए। प्रधानमन्त्री आजै सरकारी निवास बालुवाटार फर्कने पाण्डेको भनाइ छ।
‘सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यू ग्रान्डी इन्टरनेशनल हस्पिटलमा आज नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि आउनु भएको छ र उहाँको आज पुनः हेमोडायलासिस सम्पन्न भएको छ’, अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाल उहाँको स्वास्थ्य अवस्था राम्रो रहेको छ। आजै उपचार पश्चात उहाँ प्रधानमन्त्री निवास पाल्नुहुनेछ।’
यसअघि ग्रान्डीमै कात्तिक १२ र १३ गते उनको डायलासिस भएको थियो। पिसाब निष्कासनमा सहजताका लागि मिर्गौलामा स्टेन्ट राखिएको थियो। आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
FACEBOOK COMMENTS