काठमाडौं, मङ्सिर ११ – किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरि उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने र प्रतिभा निखार्ने उदेश्यले आयोजित प्रतियोगिता ‘ग्लोकल टिन हिरो २०२०’ को उत्कृष्ट ६ प्रतिस्पर्धी सार्वजनिक गरिएको छ । देशभरका ६०४ युवायुवतीबाट विभिन्न चरणबाट उत्कृष्ट ६ छानिएको हो । जसमा एकराज घिमिरे, मन्दिरा श्रेष्ठ, रीत काफ्ले, सुभाश शर्मा, सुलव सुबेदी, वैभव नाहटा रहेका छन् ।
‘ग्लोकल टिन हिरो २०२०’को प्रतियोगिताको छैठौं संस्करण हो । ग्लोकल प्रालि र वाईवाईको संयुक्त आयोजना रहेको र २० वर्षभन्दा कम उमेरका सहभागी रहेको प्रतियोगितामा छानिएका उत्कृष्ट ६ प्रतिस्पर्धीले समाजसेवा, बालअधिकार, खेलकुद, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, प्रविधि र उद्यमशीलता, वातावरण संरक्षणजस्ता विविध क्षेत्रमा काम सकारात्मक सन्देश समेत प्रवाह गरिरहेको आयोजक ग्लोकल प्रालिका कार्यकारी निर्देशक आशिष ठाकुरले जानकारी दिए ।
समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्नु नै कार्यक्रमको उद्देश्य रहेको छ । नेपालमा २०१५ बाट सुरु भएको प्रतियोगितामा हालसम्म ५ किशोरकिशोरी ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित भएका छन् । कोरोनाको प्रभावका कारण यो वर्ष १२ डिसेम्बर २०२० मा अनलाईन अवार्ड कार्यक्रम मार्फत उत्कृष्ट घोषणा र पुरस्कार वितरण गरिनेछ ।
अब्दुल्ला टुन्सर केइसी (टर्कीस एयरलाइन्सका महाप्रबन्धक), उज्वल श्रेष्ठ (पञ्चकन्या समूहका कार्यकारी निर्देशक), श्रीमती रितु एस वैद्य (प्रबन्ध निर्देशक, युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.), वरुन चौधरी (चौधरी समूहका कार्यकारी निर्देशक) र अनिल चित्रकार (सिद्धार्थ इंकका अध्यक्ष) प्रतियोगिताको निर्णायकमा रहेका छन् । एसएमएस भोटिङ र निर्णायकको मतबाट उत्कृष्ट छानिने प्रतियोगिताका बिजेताले शीर्ष उपाधि सहित विभिन्न उपहार र अवसर पुरस्कारको रुपमा प्राप्त गर्न सक्नेछन् । प्रतियोगिताको आयोजक ग्लोकल प्रालि जावलाखेल रहेको छ ।
FACEBOOK COMMENTS