काठमाडौं । ग्लोबल आईएमई समुन्नत योजना–२ म्युचुअल फण्ड आज आइतबारदेखि सङ्घसंस्था तथा सर्वसाधारणका लागि सार्वजनिक निष्कासन तथा बिक्री खुला भएको छ ।
उक्त म्युचुअल फण्डको प्रतिइकाइ अङ्कित मूल्य १० रुपैयाँ दरको १२ करोड इकाइमध्ये न्यूनतम बिक्री हुनुपर्ने ६ करोड वा कुल बिक्री भएको इकाइ सङ्ख्याको न्युनतम १५ प्रतिशत इकाइमध्ये योजना व्यवस्थापक कम्पनी ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई १.५ प्रतिशत वा १८ लाख इकाइ तथा कोष प्रवर्द्धक कम्पनी ग्लोबल आईएमई बैंक लिमिटेडका लागि १३.५० प्रतिशत वा एक करोड ६२ लाख इकाइ बीज पुँजीको रूपमा रहनेछ ।
बाँकी न्यूनतम् १० करोड २० लाख इकाइका लागि विभिन्न सङ्घसंस्था/सर्वसाधारणहरूका लागि सार्वजनिक निष्कासन तथा बिक्री खुला भएको छ । यस योजनामा सङ्घसंस्था तथा सर्वसाधारणहरूले न्यूनतम एक सय इकाइ र अधिकतम एक करोड २० लाख इकाइको आवेदन दिन सक्नेछन् ।
मुख्य विशेषताहरू–
फण्डको नाम ग्लोबल आईएमई म्युचुअल फण्ड
कोषको आकार प्रारम्भिक १.२० अर्ब (अत्याधिक माग भएमा १.५० अर्बसम्म)
प्रतिइकाइ मुल्य १०
सर्वसाधारण निष्कासन गरिने इकाइ १२ करोड इकाइहरू
न्यूनतम लगानी १०० इकाइ
अधिकतम लगानी योजनाको १० प्रतिशत अर्थात १.२० करोड इकाइ
योजनाको अवधि इकाइ बाँडफाँट मितिदेखि १० वर्ष
लाभांश नीति प्राप्त मुनाफाबाट वितरण, बाँकी रकम पुनः लगानी
सूचीकरण नेपाल स्कट एक्सचेन्ज (नेप्से) मा सूचीबद्ध
प्रारम्भिक लगानी १५ प्रतिशत (फण्ड प्रायोजक र व्यवस्थापक)
व्यवस्थापन शुल्क नेट सम्पत्ति मूल्यको १.५० प्रतिशत
डिपोजिटरी शुल्क नेट सम्पत्ति मूल्यको ०.२० प्रतिशत
लगानी मिश्रण–
ऋणपत्रः निश्चित आम्दानी साधनहरूः ०–१० प्रतिशत (मध्यम जोखिम)
फिक्स डिपोजिटः ०–१० प्रतिशत (न्यून जोखिम)
नगद/आईपीओ/अन्य म्युचुअल फण्डः ०–१० प्रतिशत (न्यून जोखिम)
लगानी गर्नुपर्ने कारणहरू–
विविधीकरण
सहजता र पहुँच
सस्तो लगानी
पारदर्शिता
कर छुट
लगानीकर्ता संरक्षण
प्रक्षेपणअनुसार लगानी प्रतिफल (१० वर्ष)
क्यापिटलले यस योजनाको वार्षिक औसत प्रतिशत २२.४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यस अनुसार यस योजनाका इकाइधनीहरूले १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन । यस योजनाको अनुमानित आन्तरिक प्रतिफल दर १६.८८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । क्यापिटलले यस योजनाका इकाइधनीहरूलाई पहिलो ९ वर्षसम्म ८ प्रतिशतदेखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने सक्ने प्रक्षेपण गरिएको छ ।
ग्लोबल आईएमई म्युचुअल फण्डअन्तर्गत हालसम्म दुई योजनाहरू सञ्चालन भइसकेका छन । जसमध्ये समुन्नत योजना १ ले ७ वर्षमा १०४ प्रतिशत लाभांश वितरण गरेको छ भने १०.१६ प्रतिशत फण्ड पूर्ण खरिद प्रतिफल दिएको छ । त्यस्तै, १० वर्ष अवधिको ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड १ को १.०२५ अर्ब कोष आकार रहेको छ ।
यस योजनाको योजना व्यवस्थापक ग्लोबल आईएमई क्यापिटल लिमिटेड हो । यो क्यापिटल नेपालकै पहिलो विशुद्ध मर्चेन्ट बैङ्कर हो, जुन सन २००८ मा स्थापना भएको थियो । यो क्यापिटल नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैङ्करको लाइसेन्सप्राप्त मर्चेन्ट बैंक हो, जसमा ग्लोबल आईएमई बैंकको ८१.५० प्रतिशत स्वामित्व छ ।
यस योजनाको इकाइमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै, सीडीएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरोशेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् ।
यस योजनाको निष्कासनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ संस्था इक्रा नेपालले कोष प्रवर्द्धकलाई इक्रा एनपी इस्यूअर रेटिङ ए माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङले आईआरएन एएमसी क्वालिटी ३ (३) रेटिङ प्रदान गरेको छ ।
FACEBOOK COMMENTS