काठमाडौं, मंसिर ६- विभिन्न किसिमका आपराधिक गतिविधिमा संलग्न रहेर ‘डन’का रूपमा चिनिएका व्यक्तिहरू अझै राजनीतिक पार्टी र नेताको संरक्षणमा रहँदै आएका छन् ।
राजनीतिक आडमा विगतदेखि नै आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेका उनीहरू प्रहरीको इन्काउन्टर अपरेसनपछिका पछिल्ला समय केही कमजोरजस्तो देखिए पनि राजनीतिक संरक्षणबाट भने अलग्गिएका छैनन् । सोही आडमा उनीहरूले आफूलाई डनका रूपमा सुरक्षित अवतरण भने गराउँदै आएका छन् ।
केही डन त राजनीतिक शक्तिका आडमै बढुवा भएर नेता हुँदै सांसदसम्म बनिसकेका छन् । केहीले भने डनबाट पलायन भएर आफ्नै व्यवसाय सञ्चालनसमेत गर्दै आइरहेका छन् । धेरैजसो गुन्डा नाइके वा डनहरूले कुनै न कुनै पार्टीको सदस्यता लिएका छन् । केहीले भने पारिवारिक सम्बन्ध बनाएर प्रत्यक्ष साँठगाँठमा आफूलाई सुरक्षित राखेका छन् । केही गुन्डा नाइके पलायन भएर विदेश पुगेका छन् भने केही विभिन्न किसिमका व्यवसायतर्फ लागेका छन् ।
चरी र घैंटेको प्रहरी इन्काउन्टरमा मृत्यु भएपछि केही गुन्डा नाइके विदेश पलायन भएको प्रहरीले दाबी गरेको छ । सो दुई घटनापछि गुन्डा नाइकेले आफूलाई प्रहरीबाट असुरक्षित महसुस गरेको र सुरक्षित अवतरण खोजेको बताइन्छ ।
डनका रूपमा चर्चामा रहेका दीपक मनाङे हाल सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बाट प्रदेश सांसद भएका छन् । उनी मनाङको प्रदेश सभा ‘ख’बाट स्वतन्त्र उम्मेदवारका रूपमा गण्डकी प्रदेशको प्रदेशसभामा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए । उनी गत १९ असारमा ९नेकपा०मा प्रवेश गरेका हुन् । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका प्रदेश इन्चार्ज पृथ्वी सुब्बा गुरुङले नेकपा प्रवेश गराएका थिए ।
अर्का गुन्डा नाइके गणेश लामा पहिले राप्रपाको संरक्षणमा थिए । पछि विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य बनेका उनी गच्छदार नेपाली कांग्रेसमा फर्किएपछि हाल कांग्रेस नेताकै रूपमा छन् ।
२०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा लामा कांग्रेसका तर्फबाट काभ्रे निर्वाचन क्षेत्र नम्बर १ ‘ख’बाट नेपाली कांग्रेसका लागि उम्मेदवार बनेका थिए । हाल उनी गच्छदारकै निकट रहेर काम गर्दै आइरहेका छन् । हाल उनी निर्माण व्यवसायको क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आइरहेका छन् ।
यस्तै, नेकपासँग निकट रहेका अर्का गुन्डा नाइके हुन् मिलन गुरुङ अर्थात् ‘चक्रे मिलन’ । उनले नेकपाका एक नेताकी श्रीमतीसँग भाइटीका नै लगाउने गरेका छन् । अर्का गुन्डा नाइके राजु गोर्खालीको सम्बन्ध नेकपाका नेताहरूसँगै भएको बताइन्छ । यस्तै, साजन महर्जनसमेत नेकपा निकट नै मानिन्छन् ।
यसैगरी, ललितपुरका गुन्डा नाइके मीनकृष्ण महर्जन, समीर केसी, काभ्रेका सञ्जीव लामा र अजयमान श्रेष्ठ, सुन्धाराका पूर्ण गुरुङ र सामाखुसीका महेश श्रेष्ठ कांग्रेस निकट मानिन्छन् ।
अर्का गुन्डा नाइके मनोज आचार्यको राष्ट्रिय जनता पार्टी नेपालसँग साँठगाँठ रहेको बताइन्छ । फिल्म निर्माता मधु श्रेष्ठ पनि प्रहरीको गुन्डा सूचीमा छन् । धादिङका गुन्डा मानिएका राधे भण्डारी पनि कांग्रेसका नेतासँग प्रत्यक्ष सम्बन्धमा छन् । चलचित्र क्षेत्र हुँदै राजनीतिमा लागेका अर्का गुन्डा नाइके रोज राणा हाल चलचित्र निर्देशक र निर्माताका रूपमा सक्रिय छन् ।आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS