काठमाडौँ, असोज ३० – चाडपर्वका बेला भीडभाड बढेर कोराना सङ्क्रमणको जोखिम बढ्ने भन्दै बैतडीमा लकडाउन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै आङ्शिक लकडाउन गर्ने जनाएको हो ।
दशैँ तिहारका बेला जिल्लाका विभिन्न शक्तिपीठहरुमा हुने मेला, जात्रा, उत्सव, पर्व, सांस्कृतिक तथा सामाजिक जमघट नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो ।
यसका साथै खेलकुद, विद्यालय, कलेज तथा शैक्षिक संस्थामा पठनपाठन अर्को व्यवस्था नभएसम्मका लागी नगर्न नगराउन सूचनामा भनिएको छ ।
राजनीतिक दल तथा भ्रातृ सङ्गठनहरुलाई भीडभाड हुने गरी आमसभा गोष्ठी नगर्न र नागरिकहरुलाई सार्वजनिक स्थलहरुमा भीडभाड तथा जमघट नगर्न जिप्रकाले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बैतडीले दशैँ तिहारका बेला स्वास्थ्यसम्बन्धी मापदण्ड पालनाबारे थप कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुुभयो ।
उहाँले भन्नुुभयो, “चाडपर्वका बेला हुन सक्ने कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यसम्बन्धी मापदण्ड पालनाबारे थप कडाइ गरेका हौं, मास्क, सेनिटाइजरलगायत स्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह गर्दछौँ ।”
FACEBOOK COMMENTS