काठमाडौं, पुस २ – उखु किसानको बक्यौता रकम भुक्तानी नदिने चार सुगर मिलका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
अन्नपूर्ण सुगर एण्ड जनरल इन्डस्ट्रिज प्रालि सर्लाही र इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासीका सञ्चालक राकेश अग्रवाल, रौतहटस्थित श्रीराम सुगर मिलका सञ्चालकद्वय हितेश गोल्छा र विशाल अग्रवाल तथा पश्चिम नगवलपरासीस्थित लुम्बिनी सुगर मिलका सञ्चालक श्रेया अग्रवालविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
उनीहरु विरुद्ध ठगीमा मुद्दा चलाउन पुर्जी जारी गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो । स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाही, रौतहट र पश्चिम नवलपरासीले आरोपितको खोजी गर्न महानगरीय अपराध महाशाखालाई पनि पत्राचार गरेको छ ।
जिल्लाबाट पत्र आएपछि बुधबार दिनभर पक्राउपुर्जी जारी गरिएका व्यापारीको खोजीमा काठमाडौंमा प्रहरी जुटेपनि कतै फेला पार्न सकेन ।
मुलुकी अपराध संहिता २०७४ को दफा १ सय ४९ मा ‘कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएकोमा सो बमोजिम नगरी वा फकाई, झुक्याई वा अन्य कुनै किसिमले धोका दिई कुनै काम गरी वा गर्नबाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेइमानी पूर्वक कुनै किसिमको हानी नोक्सानी वा क्षति पुर्याएमा वा आफ्नो वा अरु कसैको लागि कुनै लाभ प्राप्त गरेमा निजले ठगी गरेको मानिने छ’ भनिएको छ ।
यस्तो ठगीबाट पीडित व्यक्तिले ठगी गर्ने व्यक्तिबाट कुनै कागज गराएको रहेछ भने लिखत बमोजिम नै ठगी गर्नेले सोही बमोजिमको रकम तिर्नुपर्ने छ भने संहिता अनुसार ७ वर्ष सम्म कैद र ७० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ । मंगलबार गृहमन्त्री रामबहादुर थापा, उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्ट, कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी, प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाही तथा सम्वन्धित मन्त्रालयका सचिव सम्मिलित बैठकले किसानलाई बक्यौता बापतको रकम भुक्तानी नदिने सुगर मिल सञ्चालकविरुद्ध ठगीमा कारबाही गर्न प्रहरी र सुगर मिल रहेका जिल्लास्थित प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको थियो ।
बैठकको निर्देशनपछि बुधबार दिउँसै गृहले उखु मिल रहेका जिल्ला प्रशासन र प्रहरी प्रधान कार्यालयलाई मुलुकी अपराध संहिता–२०७४ को ठगी सम्बन्धी कसुरमा पक्राउ गरी कारबाही चलाउन परिपत्र गरेको थियो । सोही परिपत्र पछि प्रहरीले चार सुगर मिलका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
गृह प्रवक्ता चक्रबहादुर बुढाका अनुसार पुर्जी जारी गरिएका बाहेक अन्य केही सुगर मिलले पनि बक्यौता भुक्तानी गर्न बाकी रहेको तर त्यो रकम सानो भोल्युममा भएकोले सञ्चालकहरुले छिट्टै आवश्यक प्रक्रिया मिलाएर किसानको खातामा रकम पठाउने प्रतिबद्धता जनाएका छन् ।
किसानलाई बक्यौता नदिने सुगर मिल सञ्चालकहरुले सरकारबाट प्रतिक्वीन्टल ६५ रुपैयाँका दरले अनुदान लिएको, भारत र चीनबाट चिनी आयात रोक्न लगाएर मूल्यवृद्धि गर्दै प्रति केजी ९३ रुपैया सम्म पुर्याएको, स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने नाममा अर्थ मन्त्रालय र राजनीतिक दबाबमा बैंकहरुबाट लगानी गर्न लगाएको तर फाइदा लिएर कतिपय उद्योग बन्द भएको र उल्टै किसानलाई ठगी गर्ने नियत देखिएकोले अब कुनैपनि हालतमा उनीहरुलाई उन्मुक्ति नदिने गरी कारबाही गर्न लागिएको गृह मन्त्रालय स्रोत बताउँछ ।
FACEBOOK COMMENTS