कार्तिक ८ काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ मा वस्तु निर्यातमा उत्साहजनक वृद्धि हुने संकेत देखिएको छ । आवको पहिलो तीन महिनामै ६५ अर्ब रुपैयाँभन्दा बढीको निर्यात हुनुले यस्तो संकेत देखिएको हो ।
भन्सार विभागको तथ्यांक अनुसार साउन–असोजसम्म कुल ६५ अर्ब ५ करोड २८ लाख रुपैयाँ बराबरको भएको छ । यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा १०९।५४ प्रतिशत बढी हो । गत वर्ष यसै अवधिमा मात्र ३१ अर्ब ४ करोड ६० लाख रुपैयाँ बराबरको निर्यात भएको थियो ।
निर्यात बढेको यो वर्ष आयात समेत चुलिएको छ । चालु आवको तेस्रो महिनासम्म ४ खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ बराबरको वस्तु आयात भइसकेको छ । अहिले गत आवको यसै अवधिको तुलनामा ६३।७३ प्रतिशतले वस्तु आयात बढेको छ । आयात र निर्यात दुवैमा भएको वृद्धिले वैदेशिक व्यापारमा समेत उल्लेख्य वृद्धि भएको छ ।
नेपालको वैदेशिक व्यापार तीन महिनामै साढे ५ खर्ब हाराहारी पुगेको छ । तीन महिनाको अवधिमा कुल ५ खर्ब ४३ अर्ब ५७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ६८।१३ प्रतिशतले बढी हो । गत आवमा मात्र ३ खर्ब २३ अर्ब ३१ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको तथ्यांक भन्सार विभागसँग रहेको छ ।
साथै, तीन महिनाको अवधिमा १७ अर्ब १७ करोड ७१ लाख रुपैयाँ बराबरको मोबाइलफोन, १३ अर्ब ४ करोड ५३ लाख रुपैयाँ बराबरको कच्चा १२ पाम आयल, १२ अर्ब ८६ करोड ५६ लाख रुपैयाँ बराबरको पेट्रोल, १२ अर्ब ८५ करोड ४६ लाख रुपैयाँ बराबरको आइरन, स्टील, १२ अर्ब १८ करोड १० लाख रुपैयाँ बराबरको एलपीजी ग्यास, ११ अर्ब ७ करोड बराबरको सुन र १० अर्ब १७ करोड १४ लाख रुपैयाँ बराबरको चाँदी आयात भएको भन्सार विभागको तथ्याङकले देखाउँदछ ।
गत वर्षको सोही अवधिमा नेपालले २ खर्ब ९२ अर्ब २६ करोड रुपैयाँको आयात गरेको थियो ।
FACEBOOK COMMENTS