काठमाडौं । कोभिडविरुद्धको खोप भेरोसेल उत्पादक चिनियाँ कम्पनी सिनोफार्मले नेपाललाई आगामी अढाई महिनामा ४० लाख डोज खोप उपलब्ध गराउने सुनिश्चित गरेको छ । सरकारले यसअघि नै चीनबाट खोप खरिद गर्ने निर्णय गरिसकेको छ ।
बेइजिङस्थित नेपाली दूतावासका अनुसार नेपालले आफ्नो अनुकूलताअनुसार जुन महिनाभित्र १० लाख, जुलाईमा २० लाख र अगस्टमा १० लाख डोज खोप खरिद गर्न सक्ने गरी सिनोफार्मले आश्वस्त तुल्याएको छ ।
‘चिनियाँ कम्पनी ३० जेठमै १० लाख डोज खोप उपलब्ध गराउन तयार थियो,’ दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालले टेलिफोनमा भने, ‘सिनोफार्मले आगामी अगस्टसम्ममा हामीलाई ४० लाख डोज खोप उपलब्ध गराउने सुनिश्चित गराएको छ ।’ त्यसपछि खोपको प्रेसर पनि कम हुने भएकाले आवश्यकताअनुसार थप खरिद गर्न सकिनेछ ।
सिनोफार्मको सर्तअनुसार खोप खरिदपूर्व उसलाई भुक्तानी गर्नुपर्छ । ‘मन्त्रिपरिषद्ले खोप खरिद गर्ने निर्णय गरिसकेका कारण भुक्तानी हुन्छ । ४० लाख खोप सुनिश्चित हुनु पनि हाम्रा लागि ठूलै राहत हो,’ एक कूटनीतिक अधिकारीले नयाँ पत्रिकासँग भने ।
भारतबाट आउनुपर्ने १० लाख डोज अझै अनिश्चित
उता भारतबाट भने खरिद गरिसकेको १० लाख डोज कोभिसिल्ड खोप तत्काल आउने सम्भावना छैन । यद्यपि, नेपालले खोप उपलब्ध गराइदिन भारत सरकार र उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियालाई तारन्तार ताकेता गरिरहेको छ ।
सेरमले दिल्लीस्थित नेपाली कूटनीतिक अधिकारीहरूलाई निरन्तर एउटै जवाफ दिँदै आएको छ, ‘हामी नेपालको अवस्था र आग्रहबारे अवगत छौँ । यस सम्बन्धमा हामी काम गरिरहेका छौँ ।’ खोप कहिले दिने भन्ने स्पष्ट केही बताएको छैन ।
नेपालले सेरमसँग २० लाख डोज खोप खरिद गरेको थियो । त्यसमध्ये १० लाख मात्रै उपलब्ध गराएको छ । नेपालमा पहिलो डोज कोभिसिल्ड खोप लगाएका करिब १७ लाख ज्येष्ठ नागरिक दोस्रो डोजको पर्खाइमा रहेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS