बेइजिङ, वैशाख १८ – चीनमा पनि कोरोना भाइरसको भारतीय भेरियन्ट फेला परेको छ । चिनियाँ अधिकारीहरुले कोरोना भाइरसको बी १६१७ भेरियन्ट पुष्टि भएको दावी गरेका छन् ।
कोरोनाको भारतीय भेरियन्ट फेला परेपछि चीनमा हाई एलर्ट जारी गरिएको छ । कोरोना भाइरसको यो भेरियन्ट सबैभन्दा पहिले भारतमा भेटिएकाले यसलाई भारतीय भेरियन्ट पनि भन्ने गरिन्छ । भारतमा भेटिएको यो भेरियन्टको विषयमा हालसम्म वैज्ञानिकले कुनै ठोस तथ्य फेला पारेको छैनन् ।
चिनियाँ सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी) का प्रमुख वू जुनयूले चीनमा नयाँ भेरियन्ट फेला परेको पुष्टि गरेका हुन् । उनले कोरोनाको यो भेरियन्ट हालसम्म चीनका कति जनामा पुष्टि भएको छ भन्ने विषयमा भने खुलाएका छैनन् ।
चीनका केही शहरमा भारतको म्यूटेट स्ट्रेन भेटिनु चिन्ताको विषय रहेको र विभिन्न शहरमा यो भेरियन्ट फेला परेको उनको भनाइ छ ।
FACEBOOK COMMENTS