काठमाडौं, जेठ १७ – चीनले दुई सन्तान मात्रै जन्माउन पाउने कडा नियमलाई अन्त्य गर्दै अबदेखि एक दम्पतीले तीन जनासम्म बच्चा जन्माउन सक्ने घोषणा गरेको छ । सिन्ह्वा समाचार संस्थाका अनुसार आज सोमबार पोलिटब्यूरो बैठकमा राष्ट्रपति सी जिजपिङले सो नीतिलाई स्वीकृत गरेका हुन् ।
सो निर्णय १० वर्षको फरकमा गरिने हालैको जनगणनामा चीनको जनसङ्ख्या वृद्धिदर केही दशकमै सबैभन्दा कम भएको पाइएपछि गरिएको यस्तो निर्णय गरिएको बताइएको छ । सो जनगणनाको नतिजाले चीन सरकारलाई जनसङ्ख्या घट्नबाट जोगाउन दम्पतीहरूलाई बढी बच्चा जन्माउन प्रेरित गर्नुपर्ने कार्यक्रम ल्याउन दबाब दिएको थियो ।
यो महिनाको शुरूमा सार्वजनिक गरिएको चीनको जनगणनामा गत वर्ष १ करोड २० लाख बच्चा जन्मिएको देखिएको थियो । यो सङ्ख्या सन् २०१६ को १ करोड ८० लाखभन्दा कम हो र सन् १९६० को दशकयता सबैभन्दा कम हो ।
सो नतिजा सार्वजनिक भएपछि चीनले परिवार नीति नियमलाई सहज बनाउने अपेक्षा गरिँदै आएको थियो । चीनमा सन् १९८० देखि सन् २०१५ सम्म एक जोडीले एक जना बच्चामात्रै जन्माउन पाउने नीति थियो र सन् २०१६ को शुरूदेखि दुई बच्चासम्म जन्माउन पाउने गरिएको थियो । बीबीसी
FACEBOOK COMMENTS