काठमाडौं, चैत २० – नेपाल चेम्बर अफ कमर्समा सर्वसम्मत नेतृत्व चयन भएको छ । यस अघि चेम्बरको कुल ५५ सदस्यीय कार्यसमिति चयनका लागि ६३ जनाको उम्मेदवारी परेसँगै चुनावी प्रतिस्पर्धा हुने देखिएको थियो । तर उम्मेदवारी फिर्ता लिने अन्तिम मिति अर्थात बिहीबार सम्ममा ८ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै सर्वसम्मत रुपमा नेतृत्व चयन भएको चेम्बर स्रोतले जानकारी दिएको छ ।
चेम्बरको कार्यतालिका अनुसार यहिँ चैत २६ र २७ गते काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा ७० औं वार्षिक साधारणसभा तथा निर्वाचन हुँदैछ । तर बिहीबार नै सर्वसम्मत रुपमा नेतृत्व चयन भएपछि चुनाव नहुने भएको छ ।
चेम्बरमा सर्वसम्मत रुपमा ५५ सदस्यीय कार्यसमिति चयन भएसँगै भावी अध्यक्षमा राजेन्द्र मल्ल हुने निश्चित भएको छ । यस अघि बरिष्ठ उपाध्यक्ष रहेका मल्ल अबको कार्यकालमा अध्यक्ष हुने निश्चित भएको हो । चेम्बरको विधान अनुसार सुरुमा ५५ जना सदस्यको लागि निर्वाचन हुने र उक्त निर्वाचतबाट चयन भएका सदस्यहरुले नै अध्यक्ष लगायतका पदाधिकारी चयन गर्नेछन् ।
संघीय संरचना अनुरुप चेम्बरमा प्रदेश समेत गरी कुल ६२ जनाको कार्यसमिति हुने छ । जसमा प्रदेशबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको पनि केन्द्रिय कार्यसमितिले नै चयन गर्नेछ ।
FACEBOOK COMMENTS