काठमाडौं । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरेपछाडि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन् ।
कोरोना भाइरस ९कोभिड–१९० विरुद्ध सरकारले देशभर लककडाउन गरेको अवस्थामा प्रदेश र स्थानीय सरकारले गरेका कामका विषयमा शनिबार भिडियो कन्फ्रेन्समार्फत प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुसँग छलफल गरेका हुन् ।
सो छलफलमा मुख्यमन्त्रीहरुले छिमेकी मुलुक भारतमा संक्रमणको खतरा बढिरहेकाले लकडाउनको समय लम्ब्याउनुपर्नेमा जोड दिएका छन् । अहिलेकै अवस्थामा लकडाउन खोलिए संक्रमण फैलिनसक्ने चिन्ता व्यक्त गर्दै लकडाउन केही समय थप गर्नुपर्ने उनीहरुको धारणा थियो ।
यस्तै स्वास्थ्यका क्षेत्रमा पूर्वाधारहरु थपिएको र अझ अत्यावश्यक पूर्वाधारहरु प्रदेशमा पनि बढाउन केन्द्र सरकारले अझबढी पहल गर्नुपर्नेमा सबै प्रदेशका मुख्यमन्त्रीहरुले जोड दिएका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारको एक्सन रुमबाट सबै मुख्यमन्त्रीहरुसँग भएको भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री ओलीले कोभिड १९ संक्रमणको नियन्त्रण रोकथाम र उपचारका सन्दर्भमा स्थानीय तह र सबै प्रदेशहरुमा भइराखेका कामहरुको जानकारी लिएका थिए ।
भिडियो कन्फ्रेन्समा मुख्यमन्त्रीहरुले कोभिड–१९का विरुद्धमा आ–आफ्नो प्रदेशमा भएका प्रयासहरुको बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
भिडियो कन्फ्रेन्समा कोरोना भाइरसको नियन्त्रणका लागि नपुगेका प्रयासहरुमा जोड दिने र समन्वयात्मक रुपमा संघ, प्रदेश र स्थानीय सरकारबीच काम गर्नुपर्ने सन्दर्भमा छलफल भएको उनले बताए ।
यस्तै अहिले भइराखेका प्रयासहरु समन्वयात्मक ढंगले अझ प्रभावकारी बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएको उनले बताए ।
प्रधानमन्त्री ओलीले सीमा नाकामा कडाइ गरिने, लकडाउनलाई निरन्तरता दिने र ससंक्रमणको खतरालाई कुनैपनि भावुक कुराहरु गरेर लापरबाही नगरिने विषयमा मुख्यमन्त्रीहरुलाई स्पस्ट हुन आग्रह गरेको बताए ।
भिडियो कन्फ्रेन्समा कुनैपनि हिसाबले संक्रमण फैलिने स्थिति नहोस् भन्नका लागि सुरक्षाकर्मी, प्रशासन, स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले उचित ध्यान दिने विषयमा समेत छलफल भएको थियो ।
नागरिकको जीवन रक्षाका लागि लकडाउन गरिएकोहुनाले जीवन रक्षामा केन्द्रीत हुने र नागरिकलाई दुख दिनका लागि लकडाउन गरिएको होइन भन्ने विषयमा स्पस्ट गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएको उनले बताए ।
सरकारले योजनाबद्ध रुपले काम गरेको स्पस्ट पार्दै कुनैपनि समय वा १५÷१५ दिनमा निर्देशन दिने तरिकाले काम नगर्ने र त्यसप्रकारको संयन्त्रको खोजि नगर्नपनि मुख्यमन्त्रीहरुलाई प्रधानमन्त्री ओलीले आग्रह गरेको प्रेस सल्लाहकार थापाले बताए ।
जनतामा मनोबैज्ञानिक त्रास नहोस् भन्नका लागि सबै तहका सरकारले ध्यान दिनुपर्ने, क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने, क्वारेन्टाइनमा बस्नुपर्नेलाई अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए ।
FACEBOOK COMMENTS