जमुना भण्डारी
काठमाडौं – नेपाल कृषि प्रधान देश हो । नेपालमा अझै पनि ठूलो जनसंख्या कृषिमा निर्भर रहेको छ भने देशको कुल ग्रहस्त उत्पादनको ठूलो हिस्सा कृषिले नै ओगटेको छ । तर कृषि प्रदान हाम्रो देशमा खाद्यवस्तु, तरकारी, फलफूल लगायत खरबौंको कृषिजन्य वुस्तु आयत भइरहको अवस्था छ । साथै कृषिजन्य वस्तुमा आत्मनिर्भर हुनुका सट्टा परनिर्भरता दिन प्रतिदिन बढ्दै गएको छ ।
साठीको दशकसम्म नेपाल खाद्यान्न निर्यात गर्ने राष्ट्रबाट आज खाद्यान्न आयतगर्ने राष्ट्र बनेको छ ।नेपालको प्रायः सबै ठाउँमा अनेकौं प्रकारका फलफूल र तरकारी उत्पादन संभव छ । तर आज अरबौं तरकारी र फलफूल आयात भैरहेको छ, त्यो पनि विषादीयुक्त ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक बर्ष २०७६/ ७७ को छ महिनाको अवधिमा नेपालमा सात अर्ब आठ करोड बराबरको तरकारी आयत गरिएको छ । तरकारी आयतको अनुपात प्रत्येक बर्ष बढ्दो क्रममा रहेको छ । आार्थिक बर्ष २०७२/७३मा नेपालमा कुल ७.७ अर्बको तरकारी आयत भएको देखिन्छ भने आर्थिक बर्ष ७३/७४मा त्यसको मात्रा बढेर १०.६ अर्व पुगेको छ । त्यसै गरी आर्थिक बर्ष ७४/७५मा कुल ११ अर्बको तरकारी नेपालमा आयत भएको आकँडाले देखाउँछ । यसको मात्रा बढेर आर्थिक बर्ष ७५/७६ मा १४.६ अर्ब पुगेको छ ।
नेपालमा उपभोग हुने ४४ प्रतिशत तरकारी भारतबाट आयत हुने गर्छ। भारतबाट आयात हुने ९० प्रतिशतसम्म तरकारीमा विषादी प्रयोग हुने कृषि विज्ञहरुले बताउदै आएका छन्।
नेपाल सरकारले केही समय पहिले विदेशबाट आयात हुने तरकारी र फलफूल भारत र चीनको नाकामा नै विषादी परीक्षण गरेर मात्र स्वदेश भित्राउने निर्णय गरेको थियो । त्यसलाई सबैले सकरात्मक रुपमा लिनुका साथै त्यस निर्णयको जनस्तरबाट स्वागत पनि गरिएको थियो । तर आफ्नै निर्णयमा सरकार तीन साता पनि टिक्न सकेन । भारतको दबाबका साथै पर्याप्त प्रयोगशाला नभएकै कारण सरकारले भारतबाट आयात हुने फलफूल तथा तरकारीमा विषादी परीक्षण गर्ने निर्णय तत्कालका लागि स्थगित गरेको छ। र, विषादीयुक्त तरकारी र फलफूल आयात हुने सिलसिलाले निरन्तरता पाइरहेको छ ।
आयातित तरकारी र फलफूलमा मात्र होइन स्वदेशी उत्पादनमा पनि विषादीको अनुगमन, निरिक्षण र नियमन हुन सकेको छैन । रासायनिक मल र धेरै मात्रामा विषादी हालेर उत्पादन गरिएको तरकारी स्वास्थ्यका लागि हानिकारक रहेको विज्ञहरुको भनाइ छ । तर दुभाग्य हामी त्यही तरकारी उपभोग गर्न बाध्य छौं ।
हाल नेपालमा प्रयोग हुने विषादीहरु मुख्यतः ४ समूहका विषादीहरु रहेका छन् । अहिले नेपालमा प्रयोग हुने विषादीहरुमा कार्बामेट समूह, अर्गानोफोस्फेट समूह, सिन्थेटिक पाइरेथ्रोइडट्स समूह र फन्जीसाइड समूह पर्दछन् । यसअघि अर्गानोक्लोरिन समूहको विषादी पनि प्रयोग हुने गरेकामा यो अत्याधिक घातक विषादी रहेको भन्दै नेपालमा यसको प्रयोगमा प्रतिबन्ध लागिसकेको छ भने कार्बामेट समूहको अधिकांश विषादीमाथि पनि नेपालले प्रतिबन्ध लगाइसकेको छ । पछिल्लो समय कम घातक विषादीको रुपमा चिनिएको तेस्रो पुस्ताको विषादी अर्थात् नियो निकोटिनोइड समूहको विषादी भने अझै पनि नेपाल आइपुगेको छैन ।
विषादीको पहिलो असर त मानव स्वास्थ्यमा पर्ने स्वतः स्पष्ट नै छ । विषादीको असर तात्कालिन र दिर्घकालिन तथा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा मानव स्वास्थ्यमा परिहेको छ । आजको विज्ञानले समेत सहि समाधान पत्ता लगाउन नसकेको क्यान्सर र हेपटाईटिस बी जस्ता प्राण घातक रोगका विरामी बढ्दै गएका छन् । मृगौला, मुटु, कलेजो, फाक्सोका रोगीहरुको संख्यामा दिन प्रतिदिन वृद्धि भैरहेको छ । मधुमेह र उच्च रक्तचाप जस्ता रोगहरुको त महामारी नै बनेको छ । यसका कारणहरु मध्य मूलतः विषादी प्रयोग र अखाद्य वस्तुको मिलावट भएको खाद्य वस्तु उपभोग नै हो । विषादी जन्य फलफूल र तरकारीको सेवनले क्यान्सर जन्य रोगहरु उत्पन्न गर्ने, बाँझोपनका समस्याहरु उत्पन्न हुने खतरा समेत बढ्छ।
हामीले विषादीयुक्त तरकारीका साथै खाद्य बस्तुको आयत त कम गर्न सक्दैनौ तर त्यसले हाम्रो स्वास्थ्यमा पार्ने असर केहि कम भने पक्कै पनि गर्न सक्छौं । हामीले बिषदीको असर कम गर्न निम्म उपायहरु अवलम्बन गर्न सक्छौं ।
१. सम्भव भएसम्म अर्ग्यानिक फलफूल र तरकारीको प्रयोग गर्ने।
२. फलफूल तथा तरकारी उपभोग गर्नु पूर्व राम्रोसँग सफा पानीले पखाल्न पर्दछ ।
३. बेकिंग सोडा (सोडियम बाइकार्बोनेट) पानीमा मिसाउने र उक्त पानीमा १२/१ ५ मिनेटसम्म फलफूलरतरकारी धुनाले कतिपय रसायनलाई पूर्णरुपमा हटेर जान्छ ।
४. तरकारीलाई पकाउनुअघि तातोपानीले धुनाले धेरै विषादी हटाउन सकिन्छ ।
५. त्यस्तै गरी भिनेगरको प्रयोगले पनि विषादीकम गर्न सकिन्छ । १० प्रतिशत भिनेगर र ९० प्रतिशत पानी मिसाएर तरकारी र फलफूल पखाल्नाले धेरै विषादी हटाउन सकिन्छ ।
६. हामीले एक चम्चा कागतीको रस, एक चम्चा भिनेगर र र एक कप तातोपानी मिसाएर फलफूलमा छरेर ५/१० मिनेट छोड्दिनुस र १० मिनेटपछि पखालेर खानाले पनि विषादीको असर कम गर्न सक्छौं ।
७ .नुनको प्रयोगले पनि हामी विषादी कम गर्न सक्छौं । प्रतिलिटर पानीमा सय ग्राम नुन हाल्ने त्यसपश्चात उक्त नुनपानीमा विषादीयुक्त फलफूल र तरकारी २० मिनेटसम्म डुबाएर राख्नुपर्छ। यसले धेरै मात्रामा विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ। त्यसपछि फेरि सफा पानीले धोएपछि खानका लागि योग्य बनाउन सकिन्छ।
FACEBOOK COMMENTS