काठमाडौँ । लामो समय देखि सञ्चालनको प्रतीक्षामा रहेको जनकपुर–जयनगर रेल्वे सेवाको ‘ट्रयाक स्पीड’ परीक्षण आइतवार (आज) गरिदैछ । रेल खरिद गरेको १० महिनापछि ‘ट्रयाक स्पीड’ परीक्षण गर्न लागिएको हो ।
नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जनकपुर–जयनगर रेल्वे सेवा संचालनका लागि रेल्वे ट्रयाकमा आज ‘ट्रयाक स्पीड’ परीक्षण गर्ने बताए । परीक्षणका लागि सम्पूर्ण तयारी पूरा भइसकेकोले भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेलद्वारा ‘ट्रयाक स्पीड’ परीक्षण गरिने उनको भनाई छ ।
‘ट्रयाक स्पीड’ परीक्षण रेल सेवा संचालन गर्नु पूर्वको महत्वपूर्ण प्रक्रिया रहेको बताए । भारतको इस्ट–सेन्ट्रल रेल्वे कम्पनीको डिजल लोकोमोटिभ रेल आइतबार प्रतिघण्टा ६० किलोमिटरको गतिमा भारतको जयनगर रेल्वे स्टेशनबाट जनकपुर आइपुग्ने छ भने जनकपुरबाट सो रेल प्रतिघण्टा १२० किलोमिटरको गतिमा पुनः जयनगर फर्किने छ ।
परीक्षणको क्रममा रेल जयनगरबाट जनकपुर आउँदाजाँदा रेल्वे ट्रयाकमा कुनै समस्या नआएको अवस्थामा उक्त भारतीय रेल्वे कम्पनीले जनकपुर–जयनगर रेल्वे ट्रयाक रेल सेवा संचालनको लागि उपयुक्त र सुरक्षित रहेको भन्दै नेपाल रेल्वे कम्पनी लिमिटेडलाई प्रमाणपत्र हस्तान्तरण गर्नेछन् ।
आज रेल्वे ट्रयाक वरपर चौपाया, साइकल, मोटरसाइकल, बालबच्चा नछोड्न सर्वसाधारणका लागि सार्वजनिक सूचना गर्नुका साथै जनकपुरदेखि भारतको सिमानासम्मको रेल्वे लिकको वरिपरि सुरक्षाकर्मी परिचालन गरिएको बताए । सरकारले जिटुजी (गभर्मेन्ट टू गभर्मेन्ट) प्रक्रिया मार्फत ८४ करोड ६५ लाख ९५ हजार रुपियाँमा भारतसँग खरिद गरेको दुईवटा रेल गत वर्ष असोज २ गते जनकपुर रेल्वे स्टेशनमा आइपुगेको थियो । अगाडि र पछाडि गुड्न सक्ने सो रेलहरु अहिले जनकपुरको इनर्वा स्टेसनमा सशस्त्र प्रहरीको निगरानीमा पालले छोपेर राखिएको छ ।
FACEBOOK COMMENTS