काठमाडौं, पौष ६ – प्रतिनिधिसभा विघटनलाई प्रतिगमनको संज्ञा दिँदै ताप्लेजुङको फुङलिङमा सत्तारुढ दलकै विद्यार्थी घटक अनेरास्ववियु र युवा दस्ता युवा संघ नेपालले प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएका छन् ।
वीरेन्द्र चोकबाट नाराबाजीसहित निस्किएको र्यालीले तोक्मेमा पुगेर प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो । कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य प्रजिन हाङ्वाङले जनमतविपरीत गरिएको संसद् विघटन कुनै पनि हालतमा स्वीकार्न नसकिने बताए ।
अनेरास्ववियुका जिल्ला संयोजक डिल्लीराम न्यौपानेले दुई तिहाइ नजिकको जनमत प्राप्त पार्टीकै सरकारका नेतृत्वकर्ताबाट भएको संसद् विघटन अराजनीतिक भएको टिप्पणी गरे ।
विरोध कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन, नेकपाका प्रदेश कमिटी सदस्य, जिल्ला कार्यालय सदस्यलगायत सहभागी रहेको अनेरास्ववियुका जिल्ला सह–संयोजक किरण लिङ्देनले जानकारी दिए ।
FACEBOOK COMMENTS