काठमाडौँ, आश्विन २८ – जम्मू–कश्मीरका पूर्व मुख्यमन्त्री तथा पिपल्स डेमोक्रेटिक पार्टी (पीडीपी) की अध्यक्ष महबूबा मुफ्ती रिहा भएकी छिन्। करिब १४ महिनाको हिरासतपछि जम्मू–कश्मीर प्रशासनले उनलाई मंगलबार राति रिहा गरेको हो। गत वर्षको अगस्ट ५ मा जम्मू–कश्मीरलाई विशेष राज्य बनाउने संवैधानिक प्रावधान धारा ३७० हटाएसँगै पूर्वमुख्यमन्त्री मुफ्तीलाई हिरासतमा लिइएको थियो।
उनलाई जनसुरक्षा अधिनियम अन्तर्गत हिरासतमा लिएको स्थानीय प्रशासनले जानकारी दिएको थियो। रिहा हुनेबित्तिकै महबूबा मुफ्तीले अडियो सन्देश जारी गर्दै जम्मू–कश्मीरमा अधिकार प्राप्तिका लागि संघर्ष जारी रहने बताएकी छिन्।
उनले जम्मू–कश्मीरमाथि दिल्लीले गत वर्षको अगस्ट ५ मा चालेको कदम गैर संवैधानिक, गैर लोकतान्त्रिक र गैरकानुनी भएको बताएकी छिन्। उनले मुलुकका विभिन्न ठाउँमा बन्दी बनाइएका जम्मू–कश्मीरका नागरिकलाई पनि छिटोभन्दा छिटो रिहा गर्न सरकारसँग आग्रह गरेकी छिन्।
जम्मू–कश्मीरबाट धारा ३७० हटाएसँगै पीएसएअन्तर्गत ४ सयभन्दा बढी व्यक्तिलाई हिरासतमा लिइएको थियो। हिरासतमा लिइएकामध्ये धेरैलाई रिहा गरिएको छ। मुफ्तीका अलावा जम्मू–कश्मीरका ठूला नेता उमर अब्दुल्ला र उनका बुवा फारुक अब्दुल्लालाई पनि हिरासतमा लिइएको थियो। उनीहरु यसअघि नै रिहा भइसकेका छन्।
FACEBOOK COMMENTS