काठमाडौं, पुस २९- जर्मनीको डायचे बैंकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका कम्पनीसँग व्यापारिक सम्बन्ध समाप्त गर्ने भएको छ ।
डायचे बैंक ट्रम्पका कम्पनीका ऋणको एउटा निकै ठूलो स्रोत हो र बैंकको यो निर्णय ट्रम्पको व्यापारका लागि निकै ठूलो धक्का हुनसक्छ ।
डायचे बैंकले यस्तो समय यो निर्णय गरेको छ जब अन्य थुप्रै संगठनले पनि ट्रम्पसँग आफ्नो सम्बन्ध समाप्त गरिरहेका छन् ।
ट्वीटरदेखि व्यावसायिक गोल्फर्स असोसिएशनसम्मका सबैले ट्रम्पसँग सम्बन्ध तोडेका छन् । यी सबै कम्पनीले ट्रम्प ब्रान्ड बनाउन निकै महत्वपूर्ण भूमिका निभाएका थिए ।
बैंकले यसबारे कुनै आधिकारिक रुपमा बयान दिएको त छैन तर न्यूयोर्क टाइम्सले रिपोर्टलाई उद्धृत गर्दै अब बैंकले ट्रम्पसँग कुनै पनि व्यापार नगर्ने जानकारी दिएको छ ।
९० को दशकमा जब ट्रम्प कंगाल हुने स्थितीमा पुगेका थिए तब डायचे बैंक एक्लो बैंक थियो जसले ट्रम्पलाई ऋण दिएको थियो ।
ट्रम्प समूहले डायचे बैंकलाई केही वर्षभित्र ३४ करोड डलरको ऋण चुक्ता गर्नुपर्ने छ ।
ट्रम्प समूहको अर्को एक बैंक सिग्नेचर बैंकले आफूले ट्रम्पका दुई नीजि खाता बन्द गरिरहेको जानकारी दिएको छ ।
FACEBOOK COMMENTS