जनकपुर, कात्तिक १६ – जानकी मेडिकल शिक्षण अस्पतालमा आन्दोलनरत कर्मचारीले अस्पतालको प्राङ्गणमा आमरण अनसन थालेका छन् । धनुषाको रमदैयास्थित जानकी मेडिकल शिक्षण अस्पतालमा एक महिनादेखि आन्दोलनरत कर्मचारीहरुले आईतबार आमरण अनसन सुरु गरेका हुन् ।
बक्यौता तलब भुक्तानी तथा संचयकोष रकम जम्मा गर्न माग गर्दै एक महिनादेखि चरणवद्ध आन्दोलनमा उत्रिएका उनीहरुले माग पुरा नभएको भन्दै आमरण अनसन थालेका हुन् । आन्दोलित कर्मचारीले कलेज प्रशासनमा लगाएको तालासमेत फुटाइएपछि उनीहरुले यसअघि नै आमरण अनसनमा बस्ने चेतावनी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय धनुषामा प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रको रोहवरमा गत भदौ ३० गते कलेज व्यवस्थापक र आन्दोलनरत पक्षका प्रतिनिधि उमेश यादवबीच सम्झौता भएको थियो । सम्झौताअनुसार असोज ४ गतेसम्म लेखापाल राखी बक्यौता रकमबारे खर्च हिसाब सार्वजनिक गर्ने र असोज ३० सम्म दसैँ खर्च, संचयकोष र तलब लगायतका सम्पूर्ण रकम भुक्तानी गर्नुपर्ने थियो ।
तर कलेज व्यवस्थापनले धर्नामा बसेका ४० जना कर्मचारीमध्ये ५ जनालाई निलम्बनको पत्र थमाएको छ भने केहीलाई स्पष्टिकरण समेत सोधेको छ ।
कर्मचारीहरुको ६ वर्षको दसैँ पेश्की, २ महिनाको तलब, ६ वर्षदेखिको संचयकोष लगायतका रकम भुक्तानी हुन बाँकी रहेको आन्दोलित कर्मचारीहरुको भनाइ छ । केही कर्मचारीको १५÷१६ महिनाको तलब नै बाँकी रहेको उनीहरुले जनाएका छन् । कलेजका प्रमुख प्रशासक दयानन्द झा भने कर्मचारीहरुले जबरजस्ती आन्दोलन गरेर कलेजलाई धरासायी बनाउदैँ लगेको आरोप लगाउँछन् । ‘कर्मचारीको राजनीतिले गर्दा जानकी मेडिकल कलेज शिक्षण अस्पताल धारासायी हुने अवस्थामा पुगेको छ,’ उनले भने ।
आन्दोलनले गर्दा कलेजको कामकाज प्रभावित हुँदै गएको र विद्यार्थीबाट असुल हुनुपर्ने २७ करोड रुपैयाँसमेत असुल हुन नसकेको उनको भनाइ छ । उमेश यादवसहितका कर्मचारीले आफू अनुकुल कलेजलाई चलाउन, कर्मचारी र चिकित्सकहरुलाई धाकधम्की दिएर दबाबमा राख्ने गरेकाले नियमानुसार नै उनीहरुलाई हटाइएको प्रमुख प्रशासक झाको दावी छ ।
FACEBOOK COMMENTS