काठमाडौं, जेठ ७ – जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजले पछिल्लो दुई हप्तामा विभिन्न संघसंस्थाहरूलाई दुई करोड रूपैयाँ सहयोग गरेको छ । कोभिड–१९ प्रभावित समूहलाई आवश्यक अक्सिजन, भेन्टिलेटर, आईसीयूलगायत अन्य स्वास्थ्य सामाग्री खरीदका लागि उक्त रकम सहयोग गरिएको कम्पनीले जनाएको छ ।
सामूदायिक अस्पतालको स्वास्थ्य सेवालाई विस्तार गर्न तथा देशका विभिन्न प्रदेशमा स्थानीय सामूदायिक संस्थाको अग्रसरतामा भइरहेका कोभिड–१९ विरुद्धको प्रतिकार्यमा सघाउन कम्पनीले उक्त सहयोग गरेको जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका अध्यक्ष विजयकुमार शाहले जानकारी दिएका छन् ।
उनका अनुसार अक्सिजन प्लान्ट र आईसीयू विस्तारका लागि धुलिखेल अस्पताललाई रू. १ करोड ३५ लाख, नेपालको विभिन्न प्रदेशहरूमा सामुदायिक समूहहरूले गर्दै आएको कोभिडविरुद्धको प्रतिकार्यका लागि सहयोगस्वरूप रू. ७५ लाख प्रदान गरिएको छ ।
यसका अलावा कम्पनीले नेपाल भेन्टिलेटर सर्भिसलाई ‘हाईफ्लो क्यानल्स भेन्टिलेटर खरिद गर्न, वीरगञ्ज महानगरपालिकामार्फत वीरगञ्ज, पर्सामा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न, ललितपुर महानगरपालिका र ज्यापु समाजको सहयोगमा ललितपुरका रोटरी क्लबहरूमार्फत सञ्चालित आइसोलेशन सेन्टरका लागि उपकरण र सामग्री खरिदका लागि पनि सहयोग गरेको अध्यक्ष शाहले जानकारी दिएको छ ।
यस्तै विराटनगरको मोरङमा अक्सिजनसहितको आइसोलेशन सेन्टर सञ्चालनका लागि रोटरी क्लब अफ विराटनगर युनिक, रोटरी क्लब अफ विर्तामोड, रोटरी क्लब अफ धनगढी, लायन्स क्लब अफ बुटवल, रोटरी क्लब अफ भैरहवा, भैरहवा चेम्बर अफ कमर्शले सञ्चालन गरेका कोभिडविरुद्धको प्रतिकार्यलाई सघाएको र देशभर आफ्नो ग्राहक तथा स्थानीय समुदायका लागि ५ लाख रूपैयाँ बराबरको फेस मास्क वितरण गरेको कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS