काठमाडौँ, माघ २६ – इङ्ल्यान्डविरुद्धको शृंखलाअन्तर्गत पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली भारतले चार सय २० रनको लक्ष्य पाएको छ।
चौथो दिनको खेल समाप्तीमा भारतले एक विकेट गुमाएर ३९ रन जोडेको छ। जित हात पार्न पाचौँ तथा अन्तिम दिन भारतलाई ३ सय ८१ रन आवश्यक छ भने इङ्ल्यान्डले ९ विकेट हात पार्नुपर्ने छ।
दोस्रो पालीमा भारतका रोहित शर्मा १२ रन जोडेर आउट भए। चेतेश्वर पुजारा १२ र शुभमन जिल १५ रनमा अविजित छन्।
यसअघि पहिलो पालीमा २ सय ४१ रनले अगाडि रहेको इङ्ल्यान्डले दोस्रो पालीमा सबै विकेट गुमाएर एक सय ७८ रन जोड्यो। इङ्ल्यान्डका कप्तान जोए रुटले सर्वाधिक ४० रन बनाए। भारतका रविचन्द्रन आश्विन एक्लैले ६ विकेट हात पारे।