काठमाडौं, वैशाख १८ – उपप्रधानमन्त्री एवं नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले विद्यमान अवस्थामा मानिसको जीवन प्रमुख कुरा भएको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले जीवन प्रमुख कुरा भएको र श्रम हाम्रा लागि आधारभूत कुरा भएको बताएका हुन् ।
जनताको स्वास्थ्य र जीवन रक्षाका लागि नेपाल सरकारले चाल्नुपरेका बाध्यकारी कदमलाई मनन गरी सकारात्मक सहयोगका लागि समेत उनले अपिल गरेको छन् । आजको दिन श्रम गरी खाने श्रमिक वर्गको गौरवपूर्ण दिन भए पनि अहिले मानिसको जीवन नै प्रमुख कुरा भएकाले कोरोना महामारीबाट जोगिन सरकारले लागू गरेका सबै मापदण्ड पालना गर्न उनले अनुरोध समेत गरेका छन् ।
‘अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहँदा यतिबेला सिंगो मानव समुदाय कोभिड–१९ विरुद्वको संघर्षमा होमिनु परेको छ । कोरोना भाइरसको महामारीका विरुद्ध अग्रपंक्तिमा रहेर आफैलाई जोखिममा पारी अरुको जीवन रक्षामा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाई लगायतका सेवामा क्रियाशील श्रमजीवीहरूलाई म उच्च सम्मान गर्न चाहन्छु,’ उपप्रधानमन्त्री पोखरेलले लेखेका छन्, ‘उहाँहरूको साहस र योगदानलाई सम्मान गर्दै नेपाल सरकारले विशेष आर्थिक सहुलियतको व्यवस्था गरेको जानकारी गराउन चाहन्छु ।’
सिंगो विश्व नै मानव जाति र मानव सभ्यताको रक्षाका लागि लडिरहेका बेला नेपाल सरकारका सामु पनि राजधानीसहित देशका प्रमुख शहरहरूमा निषेधाज्ञा जारी गर्नुपर्ने बाध्यतात्मक अबस्था आइपरेको भन्दै उनले भनेका छन्, ‘अहिले निर्वाध रूपमा श्रम गर्ने वातावरणमा समेत बाधा पुगेको छ । यद्यपि कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले श्रमिकहरूलाई उद्योगभित्रै खाना र बासको व्यवस्था गरी उद्योग सञ्चालन गर्ने, निर्माणस्थलमै खाना र बासको व्यवस्था गरी सार्वजनिक निर्माण कार्यलाई अगाडि बढाउने निर्णय लिएको छ । श्रमिक वर्गलाई रोजगारीसँगै स्वास्थ्यमा पनि कुनै समस्या नपरोस् भन्नेमा नेपाल सरकारले विशेष ध्यान दिएको छ ।’
नेपालका हरेक लोकतान्त्रिक आन्दोलनमा श्रमिक वर्ग तथा ट्रेड युनियनले खेलेको भूमिकाको स्मरण गर्दै उनले समृद्ध नेपाल निर्माणको महाअभियानलाई सफल बनाउन पनि श्रमिक वर्गको निकै महत्वपूर्ण भूमिका रहने अपेक्षा व्यक्त गरेका छन् ।
‘वर्तमान सरकारले अर्थतन्त्रको तीव्र विकासको लक्ष्यका साथ सुरुवातदेखि नै श्रम क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आएको यहाँहरूलाई विदितै छ । सोहीकारण हाम्रो आर्थिक बृद्धि दोहोरो अंकको लक्ष्य हासिल गर्नेतर्फ लम्किएको थियो,’ शुभकामना सन्देशमा पोखरेलले लेखेको छन्, ‘सरकारले श्रम क्षेत्रमा बजेट वृद्धि गर्नाका साथै दक्ष जनशक्ति निर्माण, रोजगारी सृजना, सामाजिक सुरक्षा र सुरक्षित तथा सुलभ वैदेशिक रोजगारीका चार लक्ष्यमा आधारित विभिन्न कार्यक्रमहरू सञ्चालनमा ल्याएको छ ।’
सरकारले काम गर्दाको समय वा सेवा निवृत्त भएपछिको जीवनलाई सुरक्षित गर्न योगदानमा आधारित सामाजिक सुरक्षाको व्यवस्था गरेको उनको भनाइ छ । साथै, उच्च शिक्षा हासिल गरेका युवाहरूलाई शैक्षिक प्रमाणपत्र धितोमा राखेर पाँच प्रतिशत ब्याज अनुदानमा सात लाखसम्म ऋण उपलव्ध गराउन थालिएको पनि उनले बताएका छन् ।
FACEBOOK COMMENTS