साउन ८ – लगातारको वर्षासँगै नदीको सतह बढ्दा तटीय क्षेत्रका पर्यटकीय होटल जोखिममा छन् । नारायणी र राप्तीको तटीय क्षेत्रका होटलमा अहिले बाढीको जोखिम बढेको हो । लामो बन्दाबन्दीले थलिएका पर्यटकीय होटल फेरि बाढीको अर्को चर्को चपेटामा पर्ने हो कि भन्ने चिन्तामा छन् ।
बाढी अहिले पस्छ कि भरे पस्छ भनेर डराइडराइ बस्नुपरेको छ, पश्चिम चितवन मेघौलीस्थित राप्ती नदी किनारमा रहेको मेघौली सेराई ताज सफारी लजका न्याचुरलिस्ट प्रदीप महतोले भन्नुभयो । भारतको ताज होटलको व्यवस्थापनमा सञ्चालन भइरहेको यो होटल हरेक बर्सेनिजस्तै राप्तीको बाढीमा डुब्ने गर्छ ।
“गत वर्ष त हामी डुङ्गा तरेरै होटल आउने जाने गर्नुपरेको थियो । यो वर्ष त अहिलेसम्म भएको छैन, भोलि के हुने हो पत्तो छैन, महतोले भन्नुभयो । मेघौलीकै होटल वाराही पनि राप्तीकै किनारमा छ । होटल वाराहीका चन्द्रा महतो अहिले पनि बाढी होटलमा नपसोस् भनेर तटबन्धको काम गरिरहेको बताउनुहुन्छ । “होटलमा बाढी नपसोस् भनेर राप्तीमा तार जाली र ढुङ्गा भर्ने काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो । गत वर्ष होटलमा राप्ती छिर्दा झन्डै तीन करोड रुपियाँ बराबरको क्षति भएको पनि उहाँले जनाउनुभयो ।
राप्ती किनारमा सौराहादेखि पटिहानी, जगतपुर, शुक्रनगर हुँदै मेघौलीसम्म र नारायणी किनारमा नारायणगढदेखि शिवघाट हुँदै मेघौलीसम्म थुप्रै होटल छन् । भरतपुर महानगरपालिकाका पर्यटक विज्ञ विश्व सुवेदी अहिले नदी तटका होटल जोखिममा रहेको बताउनुहुन्छ ।
अहिले नारायणी नदी किनारमा रहेका १० र राप्ती किनारमा रहेका ३२ वटा होटल बाढीको जोखिममा छन्, उहाँले भन्नुभयो । सौराहामा राप्ती नदी किनारमा लगाइएको तटबन्धले यो वर्ष सौराहाको कटान तथा डुबान समस्या कम भए पनि अन्यत्र यसको समस्या जटिल नै भएको विज्ञ सुवेदीले जानकारी दिनुभयो ।
यस वर्ष राप्तीभन्दा नारायणीमा ठूलो बाढी आएकाले केही नारायणी किनारका होटलभित्र पानी पसे पनि क्षति ठूलो नगरेको तर राप्तीमा बाढी आए यसको क्षति ठूलो हुने सुवेदीको अनुभव छ । “तुलनात्मक रूपमा नारायणी किनारभन्दा राप्ती किनारमा होटल बढी भएकाले पनि राप्तीमा बाढी आउँदा चितवनका होटलमा बढी क्षति पुग्छ,” विज्ञ सुवेदीको भनाइ छ ।
– गोरखापत्र दैनिक
FACEBOOK COMMENTS